ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दक्ष जनशक्ति उत्पादनमा निजीक्षेत्रको लगानी आवश्यक : शिक्षामन्त्री

२०७८ कार्तिक, ४  
समाचार
Image Not Found

काठमाडौं (अस) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्नेगरी शिक्षा क्षेत्रमा लगानी गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपालमा शिक्षित बेरोजगारको समस्या रहेको भन्दै त्यसको अन्त्यका लागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सीटीईभीटी)का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्नेगरी अघि बढाउन लागिएको पनि जानकारी उनले गराए । भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने भन्दै त्यसमा निजीक्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह सक्ने बताए । शीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी एवं स्वरोजगारीका अवसर सृजना गर्नुपर्ने उनले उल्लेख गरे ।

छलफलका क्रममा परिसंघ अन्तर्गतको एजुकेसन काउन्सिलका सभापति द्विराज शर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव मन्त्री पौडेलसमक्ष प्रस्तुत गरे । सरकारी विद्यालयमा शैक्षिक सत्र शुरू हुनुअगावै पाठ्यपुस्तक उपलब्ध हुने वातावरण मिलाउन परिसंघले सुझाएको छ । यसैगरी नेपाली विश्वविद्यालयहरूमा एकरूपता कायम गर्न साझा शैक्षिक पाठ्यक्रम र क्रेडिट ट्रान्सफरको व्यवस्था कायम गरिनुपर्ने सुझाव दिइएको छ । नेपालको शिक्षा तथा विश्वविद्यालयहरू गुणस्तरीय रहेको सन्देश प्रवाहका लागि सरकारीस्तरबाटै प्रचारात्मक सामग्री निर्माण गरी दक्षिण एशियामा प्रचार प्रसार गरिनुपर्ने परिसंघको धारणा छ ।

परिसंघले हालको शिक्षा प्रणालीलाई रूपान्तरण गरी प्राविधिक तथा व्यावहारिक कम्प्युटर शिक्षाको कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिएको छ । यस सन्दर्भमा निजीक्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूलाई करको दरमा सहुलियत दिँदै नवीन प्राविधिक शिक्षा उपलब्ध गराउन प्रोत्साहन गरिनुपर्ने परिसंघको सुझाव छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्