ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जाजरकोटको भेरीमा खानेपानी आयोजना निर्माण गरिँदै

२०७८ कार्तिक, ५  
कर्णाली प्रदेश
NA

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

तिहारलगत्तै खानेपानीको वैकल्पिक रूपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । ‘आयोजना एक वर्षभित्र सक्नेगरी काम भइरहेको छ,’ उनले भने । भेरी कोरिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ । झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ ।

करीब ३०० घरधुरी रहेको यो ठाउँबाट भेरी नदी बग्छ । नदीको पल्लो छेउमा नयाँ शहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ । जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नुपर्दा हैरान हुने स्थानीय नरबहादुर बस्नेतले बताए । खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमीनमा अपेक्षित उत्पादन हुन सकेको छैन ।

प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमति विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । ‘फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं,’ उनले भनिन् । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका श्याम विकले बताए । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौं बिघा जमीन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउँछन् । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषक बताउँछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्