ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रकोपबाट हुने क्षतिको न्यूनीकरण

२०७८ कार्तिक, ५  
सम्पादकीय
Image Not Found

अकस्मात् आएको बेमौसमी वर्षाका कारण धान बाली भित्र्याउन तयार रहेका कृषकहरू निकै मर्कामा परेका छन् । कुनकुन क्षेत्रमा कति क्षति भयो भन्ने निश्चित आँकडा आएको छैन । तर, अनुमानका आधारमा २० देखि ३० प्रतिशतसम्म धानमा क्षति पुगेको बताउन थालिएको छ । कुल गार्हस्थ्य उत्पादनमा झन्डै २६ प्रतिशत योगदान दिने कृषि क्षेत्र निकै जोखिमयुक्त क्षेत्र हो । प्रकोपहरूबाट सजिलै असर पर्ने यस क्षेत्रको जोखिम कम गर्न सकिएको छैन । कृषिबीमा गर्न सकिएको भए अहिलेका क्षतिमा किसानहरू यति धेरै रुवावासी गर्नुपर्ने थिएन ।

धान नकाट्न नभनेपछि किसानले यस्तो भविष्यवाणीको त्यति ध्यान दिएका पनि हुँदैनन् । त्यसैले मौसम भविष्यवाणी गर्दा किसानको पक्षलाई सुझाव दिने प्रणाली पनि अपनाउन आवश्यक देखिन्छ ।

मुलुकमा मौसम भविष्यवाणी गर्न मौसम पूर्वानुमान महाशाखा रहेको छ भने नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसमबारे जानकारी दिने गरेका छन् । बुलेटिन प्रकाशन तथा एसएसएसबाट किसानहरूलाई आवश्यक सुझाव दिने गरेको पनि पाइन्छ । तर, यसपटक मौसम भविष्यवाणीमा केही तारतम्य मिलेको देखिएन भने कृषि मौसमको जानकारी पनि स्पष्टसँग दिएको पाइएन । अनुकूलता हेरी धान काट्नु भन्ने एसएमएस पठाएको भनिए पनि किसानहरूलाई स्पष्ट सुझाव दिन नसक्दा बढी क्षति भएको अनुमान गर्न सकिन्छ । त्यसैले अहिलेको क्षति कृषिविज्ञ र प्राविधिकहरूलाई चुनौती हो ।

अहिले मौसम पूर्वानुमान महाशाखाको आलोचना भइरहेको छ । पछिल्ला समय उसले गरेको भविष्यवाणी निकै मिल्छ थालेको छ । यसपटक पनि भविष्यवाणी नमिलेको चाहिँ होइन तर भविष्यवाणी गर्दा केही ढिला भएको हो । मौसम भविष्यवाणी गर्दा कति धेरै पानी पर्छ भन्न नसकेको देखिन्छ । धान नकाट्न नभने पछि किसानले यस्तो भविष्यवाणीको त्यति ध्यान दिएका पनि हुँदैनन् । त्यसैले मौसम भविष्यवाणी गर्दा किसानको पक्षलाई सुझाव दिने प्रणाली पनि अपनाउन आवश्यक देखिन्छ ।

अहिलेको वर्ष काटिएको धान डुबिसक्यो, कति त कुहिइ पनि सक्यो होला । कतिपयले परम्परागत ज्ञानको प्रयोग गरे पनि होलान् तर अहिलेको जमानामा परम्परागतभन्दा उच्चस्तरीय प्रविधि आवश्यक छ । सामाजिक सञ्जालहरूमा पनि काटेको धानलाई जोगाउन विभिन्न सुभाव दिइएको छ जुन पढेर किसानले लाभ लिन सक्ने सम्भावना न्यून छ । त्यसैले उच्च प्रविधि तत्काल सम्भव नभए पनि मध्यमकालमा उपाय अपनाउन भने सकिन्छ । कृषि प्राविधिज्ञहरू नभएका होइनन् । उनीहरूले गरेको काम बाहिर नआएको पनि हुन सक्छ । उनीहरूले दिएको सुझाव किसानले स्पष्ट नबुझ्दा पनि समस्या थपिएको हुन सक्छ । त्यसैले अब यस्तो जानकारी दिने प्रणालीा सुधार गर्नुपर्छ ।

वर्षाले शतप्रतिशत धान नष्ट भएको होइन । केही ठाउँका मात्रै बढी असर परेको हो । केही ठाउँमा त असर परेकै छैन भन्दा पनि हुन्छ । अहिले सबैले किसानलाई राहत दिनुपर्छ भनेर कराइरहेका छन् । तर, यस्तो राहत वास्तविक पीडितले भन्दा पहुँचवालाले पाउने विगतका घटनाहरूले देखाएका छन् । धानबाली नष्ट भएको यकिन तथ्यांक नभएको अवस्थामा यस्तो हुने सम्भावना अत्यधिक छ । त्यसैले वास्तविक पीडितले राहत पाउने खालको सहयोग दिइनुपर्छ । कृषि पेशा प्रकोपहरूको मार बढी पर्ने हो । जोखिम बढी भएको क्षेत्र हो । यसको जोखिम कम गर्ने उपाय भनेको बीमा हो । तर, बीमा व्यापक बन्न सकेको छेन । यसलाई व्यापक बनाउनु आवश्यक छ । सरकारले कृषि बीमामा अनुदान दिए पनि किसानहरूका लागि बीमा गराउन अझै सहज देखि“दैन । त्यसैले सामान्य किसानको पहुँचमा समेत बीमा पुर्‍याउनु जरुरी छ ।

अहिलेको अवस्थामा किसानले राहत पाउलान् तर मुलुकको धान उत्पादान घटेको छ । अब यसको आयात बढ्छ महँगो पनि पर्छ । त्यसैले अनुदान बाँड्न अग्रसर हुनुभन्दा पनि यसलाई दिगो नीतिका साथ सम्बोधन गर्नुपर्छ । त्यसो त प्रकोपको असर अन्य क्षेत्रमा पनि नपरेको होइन । सडक र पुल भत्किएर ठूलै क्षति भएको छ । जलविद्युत् आयोजना र उद्योगहरूमा पनि असर पुगेको पाइन्छ । त्यसैले बारम्बार हुने यस्तो प्रकोपबाट हुने क्षतिबाट जोगाउन दिगो नीति आवश्यक देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्