ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२० हजारभन्दा बढी भक्तजनले गरे पाथीभराको दर्शन

२०७८ कार्तिक, ६  
प्रदेश ०१
Image Not Found

कात्तिक ६, ताप्लेजुङ । दशैंको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । 

दशैंको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त संख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दशैंमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । 

कोरोना भाइरस संक्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

दशैंको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जानकारी दिएको छ । 

यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौंलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दशैंपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जानकारी दिएको छ ।

पाथीभरा दर्शनका लागि दशैं, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । 

गत वर्षको दशैं, तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष संक्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्