ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कोरोनाको चौतर्फी असर

२०७८ कार्तिक, ७  
लेख | दृष्टिकोण
Image Not Found

सन् २०१९ डिसेम्बरको अन्तमा चीनको वुहानबाट फैलिएको भनिएको कोभिड–१९ ले आज विश्व नै त्रस्त छ । कारोनाकै कारण आर्थिक क्रियाकलाप प्राय ठप्प हुँदा सबै देशमा आर्थिक मन्दी छाएको छ । हजारौंले रोजगारी गुमाएका छन् । व्यापार व्यवसाय उद्योग आदि सबै बन्द हुँदा सर्वत्र नकारात्मक प्रभाव पर्न पुग्यो । स्वास्थ्यमा त विकराल अवस्था छँदै छ, यसबाहेक शिक्षाक्षेत्र पनि डामाडोल भएको छ ।

उत्पादनमूलक क्षेत्रमा अवरोध सृजना हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेर समग्र अर्थतन्त्रमा ऋणात्मक असर पर्न गयो । अर्थतन्त्रका अवयवहरू श्रम, उद्योग, रोजगारी, व्यापार आदिमा नकारात्मक प्रभावका कारण आज हाम्रो अर्थतन्त्र समस्यामा परेको अवस्था छ । कोरोनाको विश्वव्यापी महामारीका कारण कमजोर बनेको अर्थतन्त्रलाई उकास्न ज्यादै मेहनत गर्नुपर्ने भएको छ ।

समाजको गतिशीलताका लागि गरिने सबै क्रियाकलापले आपसी सदभाव, मेलमिलाप तथा विकास निर्माणका कार्य हुने गर्छन् । विभिन्न बैठक, गोष्ठी, तालीम, भेला, सम्मेलन, अन्तरक्रिया, छलफल आदि सबै बन्द भएको अवस्था छ । यसले विकास निर्माणलगायत अन्य शीप विकास तथा आय आर्जनका क्रियाकलापहरू पनि हुन पाएन । व्यक्तित्व विकास स्वरोजगारी र अन्य महत्त्वपूर्ण कार्य अवरुद्ध हुँदा त्यसको असर सर्वत्र परेको छ । यसले अन्ततः देशको अर्थतन्त्रलाई नै कमजोर बनाएको छ । समाजका विविध अवयवहरूमा नकारात्मक असर पर्न जाँदा स्वाभाविक रूपले समाजमा पनि परिवर्तनशीलता र गतिशीलता नदेखिने अवस्थाको सृजना हुन पुग्छ ।

अर्थतन्त्रको महत्वपूर्ण एकाइ भनेको रोजगारी नै भएकाले यसको भूमिका ज्यादा रहन्छ । कोरोनाका कारण नेपालमा नै हजाराैं व्यक्तिले रोजगारी गुमाउनु परेको तीतो यथार्थ हाम्रो सामु छँदै छ । विभिन्न निजी संस्थामा रहेका कामदारहरूले पेशा गुमाउनुपर्दा उनीहरूको दैनिकी थप कष्टकर बन्न पुग्यो । बिहान बेलुका हात मुख जोर्ने समस्याले गर्दा केही आत्महत्यासमेत गर्न पुगेको नमिठो वास्तविकता हामीले देखे भोगेकै हौ । यसले समाजमा अर्को समस्या यो सृजना गरेको छ : त्यो हो डिप्रेशन । यो आज ठूलो र विकराल बन्दै गएको देखिन्छ ।

रोजगारीको सवालमा वैदेशिक रोजगारी हाम्रा अर्थतन्त्रको मुख्य आधार बनेको छ । पछिल्लो तथ्यांकअनुसार ५० लाखभन्दा धेरै मानिस वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा गएका छन् ।

कोरोना विश्वव्यापी महामारीका रूपमा फैलिएकाले यसले सबै देशमा असर पारेको छ । त्यसैले विभिन्न देशमा श्रम गर्न गएका श्रमिकले पनि रोजगारी गुमाउनु परेकाले एकातर्फ देशको अर्थतन्त्रलाई असर पर्न गयो भने अर्कातिर रोजगारी गर्नेको परिवारलाई प्रत्यक्ष असर पर्न गयो । परिवारको बिचल्ली भयो भने देशको अर्थतन्त्रको टेको पनि कमजोर बन्यो । वैदशिक रोजगारीमा जानेले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा सहजता आउने हुँदा यसले हाल थप समस्या पनि सृजना गरेको छ । नेपालको हरेक परिवारमा विदेश जाने मानिस रहेको अध्ययनले देखाएको छ । यसो हुँदा सबैलाई यो समस्याले प्रभाव पार्ने निश्चित छ ।

देशमा रोजगारीको व्यवस्था गर्न नसक्दा आज होनहार युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । वैदेशिक रोजगारी क्षणिक रूपमा लाभदायक भए पनि दीर्घकालका लागि यो घातक हुने यस क्षेत्रका जानकारहरू बताउने गर्छन् । राजनीतिक अस्थिरता, उद्योगको स्थापना गर्न नसक्नु, दृढ इच्छाशक्तिको अभाव आदिले गर्दा आज स्वदेशमा रोजगारीको अवसर देखिँदैन । त्यसैले बाध्यताका कारण विदेशिन परेको वास्तविकता हामीले भुल्नु हुँदैन । रोजगारीमा जाने मात्र नभई अध्ययनका लागि विदेश गएका समेत स्वदेशमा नआउने भएका छन् । यसले नेपालमा बौद्धिक पलायनको समस्यासमेत सृजना भएको छ ।   

कोरोनाको महामारीबाट प्रत्यक्ष प्रभाव परेको विषय भनेको पारिवारिक भेटघाट जमघट तथा सामान्य कार्यक्रमसमेत गर्न नमिल्ने अवस्थाको सृजना भएकाले सबैमा एक प्रकारको न्यास्रोपूर्ण वातावरण बनेको देखिन्छ । एका घरका सदस्य बिरामी पर्दा समेत निर्धक्क भेटघाट तथा सहयोग गर्न असहज भयो । मानिस निकट भए पनि रोगसँग जोरी खोज्ने दुस्साहस पनि गर्नु भएन । असहज अवस्थामा पारिवारिक रूपमा प्रत्यक्ष सहयोग समेत नमिल्ने जुन अवस्था आयो त्यो भने ज्यादै मन कुँडाउने खालको बन्न पुगेको छ । यसले कताकता पारिवारिक सम्बन्धको दूरी त बढाउने होइन भन्ने चिन्तासमेत बढाएको अनुभूति सर्वत्र गरिँदै छ ।

विश्वव्यापी रूपमा फैलिएको कारोनाको त्रासदीले सबै समाजमा प्रत्यक्ष प्रभाव पारेकाले हाम्रो समाजमात्र त्यसबाट अलग रहने विषय भएन । आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि भएको छ जसले संक्रमण कम गर्न सहयोग पुगेको छ । मास्क लगाउने बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता कार्यले रोगको फेलावटलाई केही न्यून गर्न सघाउ पुगेको छ । अर्को सामाजिक पक्ष भनेको विवाह, व्रतबन्धका कार्यक्रम तीजजस्ता सामूहिक भेलाहरूमा लगाम लाग्न पुग्यो जुन अत्यन्तै सकारात्मक भएको छ । यसले समाजमा मितव्ययिता कायम राख्न सहयोग पुगेको छ । त्यतिमात्र नभइ विपन्न वर्गमा जुन बाध्यता समाजमा देखाउनका लागि भने पनि गर्नुपर्ने र ऋण नै गरेर भए पनि चाड पर्व मनाउनुपर्ने अवस्थाको अन्त्य हुन पुगेको छ जसले समाजमा विकृति बन्न पुगेको तडकभडकका साथै देखासिखी गर्ने परिपाटी हाललाई अन्त्य भएको छ । यसले नेपाली समाजमा व्याप्त रहेको खर्चिलो र भड्किलो बनेको पर्व उत्सव आदिमा सकारात्मक सन्देशकोे सञ्चार गराएको छ । यो समाजको सकारात्मक पक्ष हो ।

लेखक समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्