ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कृषि बीमा र कृषि मौसमको पहुँच नहुँदाको परिणति

२०७८ कार्तिक, ८  
पाठक विचार
NA

बेमौसमको वर्षाले किसानले दुःखले लगाएको धानबाली भित्र्याउने बेलामा धान सखाप पारेको छ । किसानको क्षति राज्यका लागि आँकडा मात्रै हो, कुल गार्हस्थ्य उत्पादनमा यसको असर देखिएला तर जुन किसानको धान पानीले सखाप पारेको छ तिनको आँसु र पीडा कतै व्यक्त गर्न सकिन्न । किन कृषि पेशामा युवाहरू आकर्षित भएनन् भन्ने कुराको जवाफ पनि यस्तै क्षतिले दिन्छ । कृषि अत्यन्त जोखीमयुक्त क्षेत्र हो भनिन्छ तर जोखीम कम गर्न आवश्यक नीति र काम भने पर्याप्त हुँदैन । कागजमा आएका कार्यक्रम किसानसमक्ष पुग्नै सक्दैन । यस्तो बेथिति कहिलेसम्म रहला ?

कृषिलाई आधुनिकीकरण गर्ने भनेर कार्यक्रम चलाइएको छ । तर बीमा र कृषि मौसममा सुधार नआए कसरी आधुनिकीकरण हुन्छ ? वास्तविक समस्याको समाधानमा भन्दा चर्चा र प्रशंसा लुट्नका लागि ल्याइएको यस्ता कार्यक्रमले कृषिमा सुधार ल्याउन सक्दैन । नयाँ पुस्तालाई कृषिमा आशा जगाउन सक्दैन । त्यही कारण कृषि छाडेर वैदेशिक रोजगारीमा  जानको संख्या बढेको बढ्यै छ । कृषि बजारको जानकारी दिन मोबाइल बाँड्नेसम्मका कार्यक्रम सरकारले ल्याएको छ तर धानबाली नष्ट हुँदाको क्षतिपूर्ति पाउने संयन्त्र छैन । सरकारले दिने भनेको राहत त टाठाबाठाका लागि मात्रै हो जुन भूकम्पदेखि कोरोना कहरमा समेत देखिएकै हो । त्यसैले जोखीम कम गर्न बीमा कार्यक्रम व्यापक बनाइनुपर्छ ।  

मौसम सूचना प्रणालीमा सुधार आवश्यक छ । सरकारले दिने सूचना अपर्याप्त हुन्छ । किसानले बुझ्ने भाषमा यस्तो सूचना नदिँदा नै अहिले बढी नोक्सानी भएको देखिन्छ । सरकारी भाषा यस्तो हुन्छ जुन पढेलेखेका मानिसले समेत सहजै बुझ्न सक्दैनन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कात्तिक पहिलो साता परेका पानीका कारण करिब ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । सरकारले कृषि तथा पशुबाली बीमामा बर्सेनि धेरै रकम खर्च गर्ने गरेको भएपनि मौसमी असरका कारण हुने क्षतिको बीमा हुन नसकेको बीमा कम्पनीहरुले जानकारी गराएका छन् । यद्यपि, सरकारले मौसम सूचक राखेका कारण जुम्लाको स्याउको भने मौसमी असरबाट हुने क्षतिको बीमा हुने गरेको छ ।

मौसम सुचक (वेदर इन्डेक्स) नहुँदा मौसमी असरबाट हुने क्षतिको बीमा गर्न समस्या भइरहेको बताइन्छ । सरकारले ८० प्रतिशत अनुदान दिए पनि कृषि बीमा प्रभावकारी हुन नसक्नुमा बीमा कम्पनीहरूको अनिच्छा पनि एउटा कारण हो । अर्को यसको प्रक्रिया किसानमैत्री नहुनु पनि हो । कतिपय किसानलाई बीमा के हो भन्ने नै थाहा छैन, कतिपयलाई बीमा गरेपछि क्षतिपूर्ति दिन्छ भन्नेमा विश्वासै छैन । कोरोना बीमा गरेर कोभिडका बिरामीलाई कम्पनीहरूले दाबी भुक्तानी नदिएको अवस्था हेर्दा यस्ता कम्पनीलाई पढेलेखेका र बीमा बुझेका मानिसले समेत पत्याउन गाह्रो भइरहेको छ । बेमौसममा परेको पानीका काराण धानबालीमा क्षति पुगेका किसानलाई सरकारले राहत प्याकेज ल्याउने जानकारी दिएको छ । यस्तो राहत तत्कालका लागि मात्रै हो । तर धानबालीको बीमा गरिएको थियो भने किसानले धेरै क्षति व्यहोर्नु पर्ने थिएन, सरकारले राहत दिनुपर्ने अवस्था पनि आउने थिएन । त्यसैले कृषिलाई अर्थतन्त्रमा बलियो आधार बनाउने हो भने अहिलेको सोच, कार्यनीति र कार्यक्रममा आमूल परिवर्तन आवश्यक छ ।

मोहन अधिकारी, कलंकी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्