ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसको अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न (भिडियो)

२०७८ कार्तिक, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १२, काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको उक्त  कार्यक्रम शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । ‘नेपाली युनिकर्नको खोजी’ गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा  भर्चुअल तथा भौतिक माध्यमबाट गरेर १ हजार ५०० भन्दा बढी उद्यमी सहभागी थिए । 

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महाबीर पुनले प्रशिक्षण दिंदै नेपालमा उद्यमको विकास नहुनुको प्रमुख कारण समाज नै रहेको बताए । 

नेपाली समाजमा उद्यम गर्ने संस्कार नहुँदा उद्यमशिलताको विकास नभएको बताउँदै उनले भने, ‘नेपालमा अझै पनि विदेश जाने प्रचलन छ, अब उद्यमशिलताको विकास गर्न उद्यमी बनाउने संस्कारको विकास गर्नुपर्छ, त्यो पनि स्टार्टअपका रुपमा । बाउबाजेले नै गरेको कामलाई निरन्तरता दिएर मात्र स्टार्टअप उद्यमी बन्न सकिदैन ।’ 

उनले अब सरकारमा पुग्ने प्रतिनिधिहरुले पनि स्टार्टअप तथा उद्यमशिलतालाई अध्ययन गर्न आवश्यक रहेको बताए ।

‘उद्यमशिलताको संस्कार नै नभएको समाजबाट नेतृत्वमा पुग्नेहरुले स्टार्टअप विजनेशबारे बुझ्दै बुझेनन् र सोही अनुरुपको नीति ल्याएर लागू गर्नै सकेनन् । तसर्थ, उनीहरुले अब यस बिषयमा अध्ययन गर्न आवश्यक छ,’ उनले बताए । 

यस्तै उनले आफ्नो अविस्कार केन्द्रबाट कुनै पनि स्टार्टअप उद्यमीहरुलाई कुनै पनि किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईहरुसँग स्टार्टअप व्यवसाय गर्ने योजना छ, तर पैसा छैन । आउनुस, पूँजी जुटाउने काममा हामी सहयोग गर्छाै,’ उनले भने, ‘साथै, स्टार्टअप व्यवसाय गर्न आइडिया नै छैन भने पनि हामी निःशुल्क रुपमा सहयोग गर्न तयार छौं । तर, काम भने गर्नुपर्छ ।’

सफल पार्टनर्सका फाउन्डर तथा स्रोत व्यक्ति आशुतोष तिवारीले उद्यमशिलतामा प्रवेश गर्नु महासागरमा नै हाम फाल्नु सरह भएको बताए ।

 ‘उद्यमशिलता आफैंमा बढी जोखिमयुक्त क्षेत्र हो । तसर्थ, यो महासागरमा नै हाम फाल्नु सरह हो,’ उनले भने, ‘तर, जोखिम बढी भएपनि प्रतिफलको सम्भावना पनि उत्तिकै भएकाले आत्तिनु भने हुँदैन ।’ साथै उद्यम गर्ने व्यक्तिले प्रश्न गर्ने बानीको पनि विकास गर्नुपर्ने उनको भनाइ छ । 

उनले उद्यमी बन्नलाई उमेर, धर्म र जातले नछेक्ने बताए । ‘उद्यमशिलता बन्न उमेर, धर्म, जात लगायत कसैले पनि छेक्दैन । अमेरिकामा नै पढेको हुनुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘कुनै पनि व्यक्तिले उद्यम गर्न सक्छन् । तर, यसमा असफल पनि हुन सकिन्छ । तर, त्यो परिक्षामा फेल भएर फेरी सोही कक्षा दोहोर्‍याए जस्तो पनि होइन । फेल भएपनि फेरी सफल हुन सकिन्छ । फेल हुनु आफैंमा नराम्रो होइन ।’

उद्योग वाणिज्य महासंघ अन्तरगतको स्टार्टअप एण्ड  इन्नोभेशन समितिका सभापति रञ्जित आचार्यले स्टार्टअपलाई परिभाषित गर्ने सरकारी नीति आउनुपर्ने बताए । स्टार्टअप क्षेत्रलाई बिकास गर्ने गरि सरकारले थप नीति पनि ल्याउनुपर्ने उनको भनाइ छ । 

साथै, उद्यम गर्न सही समयको प्रतिक्षा गर्न नहुने उनले बताए । ‘उद्यम गर्न सही समय प्रतिक्षा गरियो भने उद्यमी बन्न सकिदैंन । उद्यम गर्ने सही समय नै यही हो भनेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘उद्यमीले कुनै पनि समयलाई आफु अनुकुल बनाउन सक्नुपर्छ । तव मात्र उद्यमी उद्यमी बन्न सक्छ ।’ पछिल्लो समय त उद्यमीहरुलाई सहयोग गर्ने निकाय तथा संस्थाहरु पनि रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

यस्तै, खल्ती डिजिटल वालेटका को–फाउन्डर एण्ड डाइरेक्टर अमित अग्रवालले अझै पनि कतिपय क्षेत्रमा डिजीटल भुक्तानीको विकास नभएको बताए । ‘अझै पनि काठमाडौं खानेपानीको बिल डिजीटलाइज भएको छैन । त्यहाँ हामीले चाहेर पनि आफ्नो सेवा दिन सकेका छैनौ,’ उनले भने,‘यस्तै, हामीले दैनिक गरिने खर्चमा जति भुक्तानी नगद गर्छाै, त्यस्ता सबै क्षेत्रमा डिजीटल भुक्तानीको विकास गर्न आवश्यक छ ।’

 उनले आगमी आवमा खल्तीलाई पब्लिक कम्पनीमा रुपान्तरण गरिने बताए । साथै, त्यसको तीन वर्ष भित्र सर्वसाधारणलाई आईपीओ पनि जारी गर्ने उनको भनाइ छ । 

यस्तै, माकुसेकी फाउन्डर एण्ड मिस वर्ल्ड नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले आफुलाई उद्यमशिलतामा प्रवेश गराउन ठूलो चुनौती भएको बताइन । ‘मैले अष्ट्रेलियामा बैंकमा आफ्नो करियर अगाडि बढाइएको रहेको थिंए । तर, मलाई नेपालमै आएर केही गर्न मन थियो र त्यसको लागि केही बहाना खोजी रहेको थिए,’ उनले भनिन्, ‘त्यो अवस्थामा मिस वर्ल्ड नेपाल मेरो लागि ठूलो प्लेट फर्म भएर आयो । मिस वर्ल्ड नेपाल भएपछि आफ्नो क्षमता विकास गर्दै म उद्यमशिलतामा प्रवेश गरे ।’

उनले नेपालमा केही पनि गर्न सकिदैन भन्ने मानसिकता राख्न नहुने पनि बताइन् । ‘नेपाललाई उद्यमशिलाताको लेन्सबाट हेर्न सकियो भने जति पनि सम्भावनाहरु देखिन्छ । तसर्थ, नेपालमा केही गर्छु भन्न उद्यमशिलताको आखाँबाट हेर्नपर्छ,’ उनले भने, ‘त्यसपछि हामीले पनि नेपालमा केही गर्न सकिन्छ भन्ने देखिन्छ ।’

यो पनि हेर्नुस् :

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम (फोटो फिचर)

स्टार्टअप समिट एन्ड अवार्ड मङ्सिरमा

यसैगरी न्यूबिजका अध्यक्ष मदन लम्सालले निजी क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासको मोडेललाई साथ दिने उद्देश्यसहित यो कार्यक्रम गरेको बताए । 

‘सरकारलगायतका बिभिन्न निकाय तथा संस्थाबाट पहिलेदेखि नै स्टार्टअप व्यवसायको विकासमा बिभिन्न प्रयास गरिनै रहेका छन् । त्यसबाट केही महत्वपूर्ण उपलब्धि हासिल पनि भएका छन्,’ उनले भने, ‘तर, यो क्षेत्रको तिव्र विकासको लागि अझै आवश्यक पहल कदम पुगेको जस्तो लाग्दैन । तसर्थ यस क्षेत्रको विकासमा केही सहयोग पुगोस् भन्ने उद्देश्यसहित यो कार्यक्रम गरेका हौं ।’

‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सह-प्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) रहेको छ ।

यस्तै अवार्ड कार्यक्रमलाई आइएमई,  सिटिजन्स लाइफ इन्स्योरेन्स, मन्सिरी ट्रेडिङ  तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् । कार्यक्रमको टेक्निकल पार्टर भने मेङ्गो टेक रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x