ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तिहारभित्र लुकेको जोखिम

२०७८ कार्तिक, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar मिलन विश्वकर्मा

हिन्दू नेपालीहरूको ठूला चाडपर्वमध्ये एक हो तिहार । नेपालमा मनाइने सबै पर्वको आ–आफ्नै विशेषता छन् । यस्तै विशेषता तिहारका पनि छन् । तिहारका बेला विभिन्न किसिमका बत्ती बालेर घर, टोल झलमल्ल पार्ने प्रचलन छ । त्यसैगरी तिहारमा पटका पट्काउने, झिरझिरे जलाउने जस्ता मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिन्छ । तर, तिहारलाई यसरी रमाइलो गरी मनाइरहँदा विभिन्न किसिमका विपद् पनि आइलाग्ने गरेका छन् । तिहारमा हुने आगलागीमा ८० प्रतिशत कारण विद्युत्सँग सम्बन्धित रहेको पाइन्छ । तिहारको समयमा आगो उत्पादन हुने वस्तुहरूको बढी प्रयोग हुन्छ । त्यस अवस्थामा मानिसले होशियारी अपनाउन नसक्दा आगलागीको घटना हुन्छ । यसरी आगलागीको जोखिम बढी हुने भएपछि वारुण यन्त्र कार्यालय पनि उच्च तयारीमा रहने गरेका छन् । जुद्ध वारुण यन्त्र कार्यालय, न्यूरोडका प्रमुख चन्दन श्रेष्ठले तिहारमा हुन सक्ने आगलागीका घटना नियन्त्रण गर्न अघिपछि भन्दा बढी तयारी गरिएको बताए । साथै, आगलागी हुन नदिन जनचेनतामूलक विभिन्न कार्यक्रम पनि गरिरहेको उनको भनाइ छ ।

आगलागी कारण मानवीयसँगै ठूलो मात्रामा जनधनको पनि क्षति हुने गरेको छ । आगलागीमा परेर घरभित्र भएका नगद, खाद्य सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण जलेर नष्ट हुने गर्छ । कतिपय आगलागीका घटनामा घरको संरचना नै जलेर खरानी हुने गरेको छ । त्यस्तै रातिको समयमा हुने आगलागीमा परेर घरपरिवारका सदस्यले पनि ज्यान गुमाएको घटना पनि छन् । यसरी आगलागीका कारण भौतिक तथा जनधनको क्षति भएपछि घरधनीसँग घरको मर्मतसम्भार तथा पुनर्निर्माण गर्न, औषधोपचार गर्न आवश्यक रकम नहुन सक्छ । विभिन्न संघसंस्था तथा सरकारी निकायबाट राहत आउने सम्भावना रहे पनि त्यो पर्याप्त हुँदैन ।

त्यसैले यस्ता विषयलाई दृष्टिगत गर्दै आम नागरिकले जोखिमको न्यूनीकरण गर्ने उपाय र सावधानीसँगै घरको बीमा गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बीमा विज्ञहरू बताउँछन् । पहिला घरको बीमा गर्दा अग्नि बीमा मात्र गरेर पुग्दैनथ्यो । त्यसमार्फत बीमा गर्दा ग्यास, आगो, विद्युत्, विष्फोटबाट हुने आगलागीको रक्षावरण गर्न प्रत्येकका लागि थप बीमाशुल्क तिर्नुपर्ने थियो, जसले गर्दा बीमाशुल्क पनि महँगो पर्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । बीमा समितिले २ वर्षदेखि एकीकृत सम्पत्ति बीमा निर्देशिका लागू गरेको छ । त्यसअन्तर्गत घरको बीमा गर्दा सबै प्रकारका जोखिम एउटै बीमालेखले रक्षावरण गर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्