ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

२०७८ कार्तिक, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar रामकुमार लामिछाने

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो ।

हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ ।

दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ ।

नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ ।

तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् ।

धन्वन्तरि जयन्ती, धनतेरसको रौनक
तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ ।

जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व
तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ ।

तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो ।

म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ ।

म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ ।

भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्