ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गति लिँदै पर्यटन व्यवसाय

२०७८ कार्तिक, १७  
लेख | दृष्टिकोण
Image Not Found

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ ।

कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् ।

मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ ।

खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् ।

नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ ।

पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ ।

पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ ।

पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ ।

नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ ।

यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् ।

पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ ।

नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ ।

नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ ।

लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement