ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

घरको बीमा सम्पत्ति सुरक्षा : जीवनभरलाई ढुक्क

२०७८ कार्तिक, २६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घर बनाएर मात्र हुँदैन, त्यसको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । घर भनेको सुरक्षा घरको साथ जीवनभरको भनेजस्तै हो । प्राकृतिक प्रकोप, भवितव्य, हुलदंगा, आगलागी आदि विविध विपत्तिबाट बंच्न भरपर्दो माध्यम बीमा मानिन्छ । बीमाले शतप्रतिशत क्षतिपूर्ति गर्न नसके पनि क्षतिको ठूलो हिस्सा कभर गर्न सकिन्छ ।

सम्पत्ति बीमा निर्देशिका, २०७५ को दफा ४ को अनुसूची ३ को घर बीमालेखअनुसार घरको बीमा गर्दा परिसरसहितको घर तथा घर परिसरभित्र रहेको सामान तथा सम्पत्तिको क्षतिविरुद्ध बीमा शुल्क भुक्तानी गरिन्छ । जसअनुसार द्विपक्षीय बीमा करारमा स्पष्ट उल्लेख गरिएको हुन्छ ।

कस्तो घरको बीमा गर्न सकिन्छ ?
के सबै घरको बीमा सम्भव छ ? यो प्रश्नको उत्तर त्यति सजिलो भने छैन । सानिमा जनरल इन्स्योरेन्सका कर्मचारी गणेश कडालको भनाइअनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेको घरको मात्र बीमा गर्न सकिन्छ । भविष्यमा मापदण्ड पूरा नगरेको घरको बीमा दाबी गर्दा मापदण्ड नपुगेको कारणले भुक्तानी गर्न नमिल्ने हुन सक्छ । सरकारको स्पष्ट नियम छ, मापदण्ड नपुगेको कुनै पनि घर सेवा–सुविधाबाट वञ्चित हुनुपर्छ । बीमा गर्न पाउने सरकारको सेवा–सुविधाअन्तर्गत पर्ने भएको कारण यो सुविधा प्राप्त गर्न पनि सरकारी मापदण्ड अनिवार्य पालना गर्नुपर्छ ।

कडालका अनुसार नेपालमा घरको बीमा गर्ने संस्कारको विकास भइसकेको छैन । अहिलेसम्म जति पनि बीमा भएका छन्, प्रायः बैंकबाट ऋण सुविधा उपभोग गर्नेहरू हुन् । घर धितो राखेर बैंकबाट ऋण लिन अनिवार्य रूपमा घरको बीमा गर्नुपर्छ । नेपालमा व्यक्तिगत रूपमा घरको बीमा गर्नेको तथ्यांक नगन्य मात्रामा रहेको छ । बीमा गर्नु भविष्यका लागि सम्पत्तिको सुरक्षा गर्नु हो भन्ने ज्ञान सर्वसाधारण सबैलाई हुनु जरुरी छ । सुनिश्चित भविष्यका लागि पनि यो अनिवार्य सर्त हो ।

बीमा गर्दा हुने फाइदा
प्रथमतः बीमाले सम्पत्तिको सुरक्षा गर्छ । बीमाले सम्पत्ति बीमा निर्देशिका, २०७५ अनुसार परिच्छेद २ को रक्षावरणअनुसार अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमिजन्य क्षति, खस्ने वा भासिनेसम्बन्धी क्षति, चट्याङजन्य क्षति, विस्फोटनजन्य क्षति, अकासीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन क्षति, हुलदंगा तथा आतंकवादजन्य क्षति र अन्य क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य गर्दछ ।

बीमाले प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट घरको सुरक्षा प्रत्याभूति गर्नुका साथै भविष्यमा हुने आर्थिक क्षति पूर्ति गर्न ढुक्क बन्न सकिन्छ ।सरकारले यस आर्थिक वर्षदेखि घरको बीमा गरेबापतको कुल रकमको ५ हजार आयकर छुट पाउने व्यवस्था गरेको छ । यसले गर्दा नेपालीमा घरको बीमा गर्ने संस्कारको विकासमा सहयोगी भूमिका खेल्न सक्छ ।
घरको बीमा गर्नुअघि चलनचल्तीअनुसार घरको मूल्यांकन गर्नुपर्छ । कतिपयले अनुमानित मूल्यांकन गरेर पनि बीमा गर्ने चलन छ । यसो गर्दा वास्तविक मूल्य थाहा नहुन सक्छ । त्यसैले बीमा गर्दा अनिवार्य लाइसेन्स प्राप्त इन्जिनियरबाट घरको मूल्यांकन गर्नु उपयुक्त मानिन्छ । घरको मूल्यांकन गर्नु किन पनि आवश्यक छ भने मूल्यांकनकै आधारमा बीमा गर्ने रकम निकालिन्छ । यसैको आधारमा बीमितले बीमा रकम भुक्तानी गर्नुपर्दछ । क्षतिपूर्ति दाबी गर्दासमेत क्षतिको यकिन विवरण निकाल्ने गरिन्छ ।

यसबाहेक अतिरिक्त सुविधाअन्तर्गत दुर्घटना क्षति पाउने व्यवस्था रहेको छ । सम्पत्ति बीमा निर्देशिका, २०७५ को दफा  ४ को अनुसूची ३ को घर बीमालेखको उपदफा ४ को अतिरिक्त सुविधाको (ग) अन्तर्गत दुर्घटनासम्बन्धी व्यवस्था छ । जसअनुुसार बीमित वा निजको परिवारको बढीमा ५ जना सदस्यलाई घर परिसरभित्र बीमा गरिएको जोखिमस्वरूप भएको दुर्घटनाबाट देहायको क्षति भएको खण्डमा बीमकले देहायवमोजिमको क्षतिपूर्ति भुक्तानी गर्नेछः जसअनुसार मृत्यु भएमा वा दुवै हात वा खुट्टा काटिई अलग भएमा वा दुवै आँखाको दृश्यशक्ति नफर्किने गरी पूर्ण रूपमा क्षति भएमा प्रतिव्यक्ति ५ लाख, एउटा हातको नाडी वा खुट्टाको गोलीगाँठो वा सोभन्दा माथिको भाग काटिई अलग भएमा प्रतिव्यक्ति प्रतिहात वा प्रतिखुट्टा २ लाख, हात वा खुट्टाको अन्य कुनै औंला काटिएमा प्रतिव्यक्ति प्रतिऔंला ५० हजार र अन्य अंगको क्षति भएमा चिकित्सकको सिफारिसअनुसार समानुपातिक हिसाबले हुन आउने रकम प्रदान गरिन्छ ।

यसैगरी चोरी, लुटपाट, डकैतीअन्तर्गत घर वा घर परिसरमा चोरी, लुटपाट वा डकैती भई वा सोको प्रयासस्वरूप भएको क्षतिको बीमकले क्षतिपूर्ति प्रदान गर्नेछ भन्ने व्यवस्था गरिएको छ ।

बीमा गर्न आवश्यक कागजात र सर्त
सामान्यतया घरको बीमा गर्दा जग्गाधनी लालपुर्जा, नागरिकता आवश्यक पर्छ । यसको साथमा बीमाको प्रस्ताव फाराम भर्नुपर्दछ । बीमालेखमा समग्र सर्तहरू उल्लेख गरिएको हुन्छ । बीमालेखमा उल्लिखित सर्त नै भविष्यमा हुने क्षतिको निक्र्योल गर्ने आधार भएकाले यी सर्त अनिवार्य उल्लेख हुनु आवश्यक छ ।

भविष्यमा हुन सक्ने र आउन सक्ने प्रकोपको क्षति पूर्ति गर्न बीमा गर्नु आवश्यक छ । बीमा नै आर्थिक नोक्सानीबाट बंच्ने एक मात्र भरपर्दो माध्यम हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्