ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कलह र सरकारी कुर्सी नै विकासको बाधक

२०७८ कार्तिक, २९  
पाठक विचार
Image Not Found

यो देशमा भण्डार भरिएको छ, जनतासँग सोसेको कर, दाता रकम र विप्रेषणको रकम । तर, यसको उपभोग गर्न सरकारहरूले जानेका छैनन् । यो रकम सरकारी क्षेत्र पोस्न मात्र ठीक भएको छ । यसले सर्वसाधारणले सुविधा पाउन सकेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एक जना छ, तर देश सञ्चालन कसले कसरी गरेको छ त्यो समाजलाई थाहा छैन ।

संसारमा प्रायः मानिसहरूको खराब बानी फेर्न धेरै गार्‍हो छ । जसको आदत राम्रो हुन्छ, जो व्यावहारिक हुन्छ, त्यसलाई बदल्नुपर्ने कुनै आवश्यकता नै पर्दैन । उसले बाँचुन्जेल एकअर्कालाई राम्रो कुरा सिकाएर केही न केही योगदान गरिरहेको हुन्छ । कतिपय मानिसले यिनीहरूको कदर पनि गरिरहेका हुन्छन् । एउटा दुःखलाग्दो कुरा के छ भने हाम्रो मुलुकमा राम्रा मानिसबाहेक स्वार्थी, अहं भावना र मूर्ख प्रकारका व्यक्ति धेरै छन् । त्यस्ता व्यक्तिलाई परिवर्तन गर्न सकिँदैन । तैपनि यस्ता व्यक्तिलाई समाजमा भएका राम्रा मानिसले वा संघसंस्थाले बदल्ने प्रयासचाहिँ रोक्नु हुँदैन । यस्तो प्रयासबाट नै व्यक्ति, समाज तथा देशको द्रुत विकासमा टेवा पुग्न जान्छ ।

लोकतन्त्र आएपश्चात् यहाँ हर समय कुनै न कुनै कलहले मुलुक अगाडि बढ्न बाधा पुर्‍याइरहेको छ । बुद्धिजीवी तथा पढेलेखेका व्यक्ति सधैं विभिन्न कारण विवाद र लडाइँमा लागिरहँदा देशपछि परिरहेको हो । ठूलाठूला कुर्सीमा बसेर रमिता हेर्ने, भ्रष्टाचार गर्ने, अल्लड समाज तमासा हेर्ने आदि जस्ता व्यक्तिहरू जबसम्म परिवर्तन हुँदैनन् यो देश सधैं यस्तैै रहिरहन्छ । त्यही भएर हाम्रो अवस्था अरू देशको तुलनामा धेरै सुध्रिन नसकेको हो ।

अहिलेको परिप्रेक्ष्यमा देशमा रहेका राम्रा बुद्धिजीवीहरू नै परिवर्तन हुनु अत्यन्त जरुरी छ, । अन्यथा देशमा गरीबी निवारण, रोजगार समस्या, सुस्त विकास तथा युवा पुस्ता रोजगारको हिसाबले विदेश पलायन यथावत् रहनेछ । देशको विकास सुस्त छ तापनि नक्कली बुद्धिजीवीहरू गफ दिएर दिन कटाइराखेका देखिन्छन् । गफले नै हुने भए त हामी नेपालीले पनि चन्द्रमामा पाइला टेकिसकेको, मङ्गल ग्रहमा पुगिसकेको, रकेट उडाउने कामसमेत गरिसकेका हुन्थ्यौं । यस्तो गफले हामी हाँसोको पात्र बन्नुबाहेक केही उपलब्धि प्राप्त हुँदैन ।

हाम्रो मुलुकमा एउटा अर्को विडम्बना के छ भने उसले राम्रो ग¥यो मैले पनि राम्रो गर्नुपर्छ भन्ने संस्कारको बानी नै बसेन । यस्तो संस्कार बसेको भए हाम्रो मुलुक पनि अरूको मुलुकजस्तै हुन समय लाग्दैनथ्यो होला । गलत ढङ्गले पैसा कमाउन चाहने खराब संस्कार नै हाम्रो देशको दुर्भाग्य हो । यी सब सीधासाधा सोझा र सहन सक्ने समाजले गर्दा भइराखेको मान्न सकिन्छ ।

सर्वप्रथम यस्ता संस्कारलाई हटाउनु नै समाजमा भएका राम्रा व्यक्तिको दायित्व हो । यिनीहरूले पनि हरेस खाएर मुख मोड्ने हो भने यो देश बनाउन गार्‍हो छ । हुन त पञ्चायती व्यवस्थादेखि नै मुलुकमा राम्रोे राजनीतिक संस्कारको विकास हुन सकेन । भ्रष्टाचार, आफ्नो मान्छे भन्ने परिपाटी, अल्छी प्रशासन आदि विगतदेखि नै सुधार गर्न सकिएन । लोकतन्त्र आएपछि बुद्धिजीवीहरूले यी नै कुर्रा पछ्याए । त्यही कारण मुलुक द्रुत विकासमा जान सकेन । चुनावका लागि पार्टीलाई पैसा चाहिने, आफ्नो मान्छे एवं कार्यकर्ता पालनपोषण गर्नुपर्ने आदि कारणले नेताहरूले चाहेर पनि राम्रो काम गर्न सकेनन् । त्यसैले आज हाम्रो देशको यो हालत छ ।

हामीले सरकार, नेता, कार्यकर्ता आदिलाई मात्र दोष दिएर पनि हुँदैन । बुद्धिजीवीहरू पनि कुनै न कुनै विषयमा झगडा गरिरहनुभन्दा परिवर्तन भई रचनात्मक हुन सक्नुपर्छ । अनि मात्र देश राम्रो हुनेछ । सर्वप्रथम देश हाक्नेहरू नै स्वार्थलाई छोडेर परिवर्तन हुनुपर्छ । त्यसपछि देशमा रहेका तमाम बुद्धिजीवीले देश चलाउनेहरूलाई देश यसरी चलाउनुपर्छ भनेर निरन्तर रायसुझाव दिइरहनुपर्छ । मेरो मानिसलाई राम्रो कुर्सीमा राख्नुपर्‍यो, मेरो मान्छेलाई टेन्डर हुनुपर्‍यो, मलाई राजदूत हुनुपर्‍यो मेरो सामानको भाउ बढाइदिनुपर्‍यो जस्ता स्वार्थ त्याग्नुपर्छ ।

अन्त्यमा हामी तथा हाम्रो समाज पनि सधैं गोजेन्ग्रो भएर बस्नु हुँदैन । एकअर्कालाई राम्रो कुरा सिकाएर अनावश्यक जमातलाई छोडी अन्यायविरुद्ध लड्न सिकाउन सक्नुपर्छ, जसले गर्दा मुलुकले विस्तारै सही सही दिशा समाउँदै जाओस् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्