ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

२०७८ मंसिर, १  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष (आव) २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा रू. १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति भएको छ ।

उक्त आवमा रू. ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख खर्चअन्तर्गत भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार चालू आवमा कोष रू. १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक छ ।

मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सरकारको राजस्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको बताइएको छ ।

कुल राजस्वमध्ये करतर्फ रू.९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य राजस्व रकम रू. १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल रू. १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल रू. ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजस्व संकलन भएको हो ।

प्रतिवेदनका अनुसार कुल विनियोजन रकम रू. १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।

यस्तै आव २०७७/७८ को कुल खर्चमा नेपाल सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट बेहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको अंश ३ दशमलव ४ प्रतिशत र ऋणको अंश १४ दशमलव ६४ प्रतिशत रहेको छ ।

आव २०७७/७८ मा नेपाल सरकारको विभिन्न संस्थानहरूमा शेयर लगानी रू.२६ अर्ब ९६ करोड ७३ लाख र ऋण लगानी ३५ अर्व ३२ करोड १३ लाख रहेको छ । उक्त आर्थिक वर्षसम्म नेपाल सरकारले विभिन्न संस्थानमा शेयर तथा ऋण गरी रू. ६ खर्ब ७१ अर्ब ९२ करोड ७० लाख लगानी गरेको छ ।

यसमध्ये ऋण लगानी रू. ३ खर्ब २९ अर्ब २५ करोड ६८ लाख र शेयर लगानी रू. ३ खर्ब ४२ अर्ब ६७ करोड १ लाख रहेको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्यालले मंगलवार अर्थमन्त्री शर्मालाई बुझाएको प्रतिवेदनमा सम्पत्तिको मौज्दातको अवस्था समेत समावेश गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्