ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

किन कम्पनीमार्फत व्यवसाय गर्ने ?

कृत्रिम व्यक्तिका रूपमा कम्पनीको दायित्व

२०७८ मंसिर, १  
लेख | दृष्टिकोण
Image Not Found

संगठित एवं संस्थागत व्यवसायका लागि कम्पनी स्थापना गर्ने गरिन्छ । कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्दा मुनाफा हुने विश्वास हुन्छ । कम्पनीलार्ई संगठित संस्थाका रूपमा कानूनी व्यक्तिका रूपमा कानूनले मान्यता दिएको हुन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ४२ (१) अनुसार कानूनबमोजिम संस्थापना भएको संगठित संस्थाले कानूनी व्यक्तित्व प्राप्त गर्ने र सोही हैसियतमा कानूनी सक्षमता प्राप्त हुन्छ ।

प्राइभेट फर्मले पनि स्वतन्त्र कानूनी अस्तित्व प्राप्त गर्दैन । फर्मको दायित्व तथा ऋणमा यसको दर्ता गर्ने व्यक्तिले व्यक्तिगत रूपमा तिर्न वा बुझाउनुपर्छ ।

कम्पनी विभिन्न व्यक्ति वा संस्था मिली स्थापना हुने हुँदा यसभित्र शेयरधनी, सञ्चालक, कर्मचारी, स्टकहोल्डरका रूपमा रहेका उपभोक्ता, साहू, ऋणी, समुदाय, ग्राहक रहेका हुन्छन् । यसलाई नियमन गर्ने सरकारीे व्यवस्था पनि हुन्छ, जसमा कम्पनी रज्रिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड पर्न आउँछन् । व्यावसायिक प्रकृतिका आधार बीमा कम्पनीका लागि बीमा समिति बैंक वा वित्तीय संस्थाको हकमा राष्ट्र बैंक, उद्योग व्यवसायका लागि उद्योग विभाग आदि जस्ता नियामक निकाय पनि हुन्छन् ।

कम्पनी सञ्चालन गर्न पूँजीको आवश्यकता पर्छ । पूँजीको व्यवस्थापन शेयर, डिबेन्चर, निक्षेप, बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त हुने कर्जा आदिबाट गरिन्छ । पूँजीमा शेयर पूँजीको वढी महत्त्व हुन्छ । शेयर पूँजीविना (मुनाफा वितरण नगर्ने कम्पनीबाहेक) कम्पनी स्थापना हुन सक्दैन । कम्पनीले शेयर पूँजी आफ्नो शेयर विक्री गरी प्राप्त गर्छ । शेयर पूँजीलाई युनिटमा विभाजन गरिन्छ । कुनै कम्पनीको पूँजी १ करोड छ भने उक्त पूँजीलाई प्रतिशेयर १ सयका दरले १ लाख कित्ता शेयर भनिन्छ । खरीदकर्तालाई शेयरधनी भनिन्छ । शेयरधनीलाई कम्पनीको मालिकका रूपमा लिइन्छ ।

कम्पनीका केही विशेषता हुन्छन् । स्वतन्त्र कानूनी अस्तित्व भएका व्यक्ति, सीमित दायित्व अर्थात् कम्पनीले तिर्न वा बुझाउन पर्ने कर्जा वा कुनै पनि दायित्व कम्पनीले पूरा गर्न नसको अवस्थामा यसका लगानीकर्ता शेयरधनीबाट असुलउपर वा दायित्व ठहराउन नमिल्ने, आफ्नो शेयर खरीद विक्री गरी पूँजीको व्यवस्था गर्न सक्ने, शेयर खरीदकर्ता शेयरधनी बन्ने, शेयरधनीले सञ्चालकहरूबाट सञ्चालक समितिको गठन गर्नेलगायत कम्पनीका विशेषता हुन् । सञ्चालक समितिले व्यवसाय सञ्चालन गर्र्ने, दैनिक कार्य सञ्चालनका लागि सञ्चालक समितिले कार्यकारी सञ्चालक/प्रबन्ध सञ्चालक वा कार्यकारी प्रमुख वा विभिन्न तहका कर्मचारी नियुक्ति गर्न सक्ने, सञ्चालक समितिमा निहित अधिकार कार्यकारी सञ्चालक/प्रबन्ध सञ्चालक वा कार्यकारी प्रमुख वा विभिन्न तकका कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था हुन्छ । कम्पनीमार्फत व्यवसाय गर्नु मुख्यका कारण देहाय रूपमा विभाजन गर्न सकिन्छ ।

कृत्रिम व्यक्तिका रूपमा कम्पनी
कम्पनी ऐन २०६३ को दफा ७ ले कम्पनीलाई संगठित संस्थाका रूपमा कृत्रिम व्यक्तिका रूपमा मान्यता दिएकाले आफ्नो नामबाट व्यवसाय गर्न सक्छ । कम्पनी प्राइभेट वा पव्लिक कम्पनीका रूपमा दर्ता गर्न सकिन्छ । कम्पनी दर्ता भएपछि यसका शेयरधनी र कम्पनीबीच अलगअलग अस्तित्व प्राप्त हुन्छ । यसले अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाका रूपमा मान्यताप्राप्त गर्छ । साथै, व्यक्तिसरह करार गर्न र करारबमोजिमको अधिकारको प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्छ । । यसले चल अचल सम्पत्ति प्राप्त गर्ने, राख्ने, बेचबिखन गर्ने वा अन्य किसिमले व्यवस्था गर्न सक्छ । यसले आफ्ना नामबाट नालिस उजुरी गर्न र यसका नाममा पनि नालेस उजुरी लाग्छ । यी अधिकारहरू प्राइभेट फर्म तथा साझेदारी फर्मले प्राप्त गर्न सक्दैन । शेयरधनी तथा कम्पनीको दायित्व विषयमा ऐनको दफा ८ ले विशेष व्यवस्था रहेको छ । कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न सकारेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहने व्यवस्था छ । कम्पनीको कर्जालगायत तिर्न पर्नेे दायित्व सीमित हुन्छ । अर्थात् कम्पनीले कर्जा तिर्न वा बुझाउन पर्ने कर्जा तिर्न बुझाउन नसकेका आवस्था साहूहरूले शेयरधनीको सम्पत्तिबाट आफ्नो लेना असुुल गर्न सक्दैन । शेयरधनीको दायित्व निजले खरीद गरेको शेयरको हदसम्म मात्र सीमित रहन्छ । प्राकृतिक व्यक्ति तथा कानूनी व्यक्तिका रूपमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेको देखिबाहेक सबै कुरा गर्ने अधिकार हुन्छ । तर, कानूनद्वारा सृजित व्यक्तिले कानूनले दिएजति अधिकार मात्रै प्रयोगगर्न पाउँछ । ने.का.प २०३८ अंक ६ मेघ भनिएको भेखबहादुर गुरुङविरुद्ध जिल्ला पञ्चायत स्यांजा सचिवालय, स्यांजना जिल्ला ।

ठूला तथा साना व्यवसायका लागि कम्पनी
आजको विश्वमा सानादेखि ठूला व्यवसायीहरू कम्पनीका माध्यमबाटै व्यवसाय गर्ने गरिन्छ । स्वदेशमा बैंक तथा वित्तीय संस्था, बीमा, हाइड्रो पावर आदि कम्पनीका माध्यमबाटै व्यवसाय सञ्चालित छन् । यस्ता कम्पनीका शेयर स्टक एक्सचेन्जमा खरीद विक्री गर्न सकिन्छ ।

शेयरधनी तथा कम्पनी बीचको सम्बन्ध
कम्पनी र शेयरधनी तथा यसका कर्मचारी बीच अलगअलग सम्बन्ध रहन्छ । कुनै व्यक्तिले शेयर खरीद गरेमा उक्त कम्पनीका शेयरधनीको हैसियत प्राप्त हुन्छ भने विक्री गरेमा हैसियत समाप्त हुन्छ । तर, कम्पनीको अस्तित्वमा कुनै फरक पर्दैन । नयाँ शेयरधनी आउँछन् वा जान्छन् । त्यस्तै सञ्चालक वा कर्मचारीहरूले कम्पनी छोड्दैमा यसको अस्तित्वमा कुनै फरक पर्दैन । सञ्चालक वा कर्मचारी आउँछन्, जान्छन् । कम्पनीका माध्यमबाट लगानीकर्ताको संख्यात्मक वृद्धि भइरहेको हुन्छ । शेयरबजारमा बैंक तथा वित्तीय संस्था, बीमा, दूरसञ्चार, होटेल समूहका कम्पनीको दैनिक करोडौंको कारोबार हुने गरेको छ । यी कम्पनीले राज्यलाई तिर्ने करको अंश पनि ठूलो छ । कम्पनीले शेयरधनी, सञ्चालक, कर्मचारी, साहू, ग्र्र्र्राहक, समाज तथा वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छ ।

कम्पनी तथा प्राकृतिक व्यक्ति
कम्पनी कानूनद्वारा सृजना कृत्रिम व्यक्ति हो । यसमा पनि प्राकृति व्यक्तिसँग सम्बद्ध गुण रहेको पाइन्छ । यसमा संस्थापक अभिभावकका रूपमा रहन्छ । दर्ताबाट कम्पनीको जन्म हुन्छ । कानूनले अधिकार तथा कर्तव्य तोकेको हुन्छ भने मर्जर वा एक्युजेशनलाई विवाहका रूपमा लिन सकिन्छ । प्राकृतिक व्यक्तिलाई करार गर्ने अधिकार भएझैं यसलाई पनि हुन्छ । तर, फरक यति हुन्छ प्राकृतिक व्यक्तिले आफै करार गर्छ भने कम्पनीले आफ्नो प्रतिनिधि अर्थात् एजेन्टमार्फत मात्र करार गर्न सक्छ । यस सम्बन्धमा प्राकृतिक व्यक्तिलाई कानूनले वर्जित गरेदेखि बाहेकका सबै कार्य गर्ने अधिकार हुन्छ, तर कानूनद्वारा सृजित व्यक्तिलाई कानूनले दिएजति अधिकार मात्र प्रयोग गर्ने शक्ति हुन्छ, कानूनले प्रदान गरेको अधिकारको परिधि नाघेर उसले कुनै कार्य गर्छ भने त्यस्तो कार्यले कानूनी मान्यताप्राप्त गर्न सक्तैन भन्ने सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादन भएको छ । । ने.का.प. २०४१ महीना : असार अंक ३ केशवकृष्ण श्रेष्ठविरुद्ध श्री ५ को सरकार, पर्यटन मन्त्रालय, त्रिपुरेश्वर

प्राकृतिक व्यक्तिले व्यवसाय गर्दा कम्पनीबाहेक साझेदारी फर्म, प्राइभेट फर्म, सहकारी संस्था आदिबाट पनि गर्न सक्छ । साझेदारी फर्म साझेदारी ऐन २०२० अन्तर्गत घरेलु तथा ग्रामीण उद्योग विभाग वा उद्योग विभागमा दर्ता गर्न सकिन्छ । साझेदारी फर्म लागि कम्तीमा दुई वा दुई जनाभन्दा बढी व्यक्तिहरू एकआपसमा सम्झौता गरी व्यवसाय गर्न सक्छ । यसले कानूनी व्यक्तिका रूपमा स्वतन्त्र अस्तित्व प्राप्त गर्दैन । फर्मका कुनै पनि दायित्व यसका सदस्यमा सर्छ अर्थात् फर्मले तिर्न वा बुझाउनुपर्ने कुनै पनि ऋण वा दायित्व फर्मले निर्वाह गर्न नसकेमा साझेदारहरूले व्यक्तिगत रूपमा निर्वाह गर्नुपर्छ । त्यस्तै प्राइभेट फर्म एक जना मात्र भई साना व्यवसाय गर्न सकिन्छ । यसका लागि प्राइभेट फर्म ऐन २०१४ अन्तर्गत उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभागमा दर्ता गर्न सकिन्छ । प्राइभेट फर्मले पनि स्वतन्त्र कानूनी अस्तित्व प्राप्त गर्दैन । फर्मको दायित्व तथा ऋणमा यसको दर्ता गर्ने व्यक्तिले व्यक्तिगत रूपमा तिर्न वा बुझाउन पर्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्