ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

चितवनमा कोरोना विरुद्धको खोपको माग न्यून

२०७८ मंसिर, १  
वाग्मती प्रदेश
Image Not Found

मंसिर १, चितवन । चितवन जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको संख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको संख्या अत्यन्त न्यून हुँदै गएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको संख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र अस्त्रजेनेका ४० हजार ९५७ जनाले लगाएको उनले जानकारी दिए ।

पूर्ण मात्रा लगाउनेमा कोभिसिल्डका ५८ हजार ३२१ र भेरोसेलका एक लाख ६३ हजार ८८ जोन्सन ३८ हजार ५६८ जना रहेका छन् । जिल्लामा २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या तीन लाख ६८ हजार ३८२ छ । यस समययता पाँच हजार हाराहारी फोटो खिचेर नाम दर्ता गराउने प्रक्रियामा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीवार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्य पालिकाहरुमा ठूलो सङ्ख्या भएमा खोप लगाइने उनले बताए । अन्यथा एक–दुईजना भएमा यहीँ आएर बिहीवार लगाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

उनका अनुसार पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार महानगरपालिकामा ५५ प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी हुनेहरुलाई साताको एक दिन खोप लगाउने व्यवस्था गरिएको छ । छुटेकाहरुलाई खोप लगाउन महानगरपालिकाले अनुरोध गर्दै आएको छ ।

खैरहनी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीले पहिलो मात्रा खोप लगाउन माग गर्नेको संख्या खासै नभएको बताए । कतिपयले जोनसोन खोप लगाउन चाहेको भए पनि अन्य खोपका लागि माग नभएको बताए । उनका अनुसार ८० प्रतिशतभन्दा बढी नगरवासीले खोप लगाइसकेका छन् ।

परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहाल ग्रामीण क्षेत्रहरुमा खोपका लागि अभियान चलाउनु पर्ने बताए । उनले भने, ‘खोज र खोपको अभियान सञ्चालन गर्नुपर्छ ।’ ग्रामीण क्षेत्रमा पछाडि परेका समुदायहरु खोप लगाउनबाट छुटेको जनाउँदै उनले उनीहरुलाई लक्षित गरी पालिकाहरुले कार्यक्रम ल्याउनुपर्ने जानकारी दिए ।

काठमाडौंमा चार ठाउँमा अभियानमार्फत खोप केन्द्र सञ्चालन गर्दा दुई दिनमा ६ हजारले खोप लगाएको उदाहरण दिँदै उनले अभियान नै चलाउनु पर्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्