ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कर विवादको अवस्था गुपचुप नराखौं, सार्वजनिक गरौं : अर्थमन्त्री शर्मा

२०७८ मंसिर, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

१० औं राष्ट्रिय कर दिवसको बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आन्तरिक राजस्व र राजस्व अनुसन्धान विभागले भएका कर विवाद सार्वजनिक गर्न राजस्व अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै उनले सार्वजनिक भएमात्र जनताले थाहा पाउने बताए । राजस्व चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि उनले निर्देशन दिए।

‘प्रशासकीय पुनरावलोकन गएका मुद्दा कति छ्न् सार्वजनिक गर्नुस्, आजै गर्नुस्। गुपचुप राखेर जनताले अवस्था थाहा पाउँदैनन्’ उनले भने, ‘म विज्ञ होइन तर मेरो विचारमा कर तिर्ने व्यवसायी होइन जनता हो। उनीहरुलाई थाहा दिनुपर्छ।’

समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको  पनि उनले बताए । यसैगरी अर्थसचिव मधु कुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउँँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । 
‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौं भन्ने लाग्छ, तिर्न परे पनि कम’, उनले भने, ‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पुर्‍याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताए ।

यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५ दशमलव ३२ प्रतिशत लक्ष्य हासिल गरेको बताएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन २०७७/ ७८ सार्वजनिक गर्दै विभागले आव २०७७/ ७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व संकलन गरेको बताएको हो । यस्तै २ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ मूल्य अभिवृद्धि करतर्फ, २ खर्ब ७७ करोड रुपैयाँ आयकरतर्फ तथा १ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ अन्तः शुल्कतर्फ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्