ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्सामा फेरि मौलायो गाँजा खेती, अवैध खेतीलाई राजनीतिक संरक्षण ! 

२०७८ मंसिर, १  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, वीरगञ्ज  । तीनै तहको चुनावको समय नजिकिएसँगै पर्साको ग्रामीण क्षेत्रमा फेरि गाँजा खेती मौलाएको छ ।

भारतसित खुला सीमाना जोडिएको पर्सा जिल्लामा विगतमा पनि गाँजा खेती हुने गरेको थियो । पर्सामा उत्पादिन गाँजा भारतका विभिन्न स्थानमा पुर्‍याएर विक्री गरिने भएकाले स्थानीय किसान र बिचौलियाहरूले यसलाई आय आर्जनको सहज माध्यम बनाएका थिए । 

विगतमा प्रहरीको सक्रियतामा यो खेती निरुत्साहित भए पनि अहिले पर्साको सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् । हालै जिल्लाको ठोरी गाउँपालिकाको वडा नं. ३ र ४ मा ११ बीघा खेतमा लगाइएको गाँजाका बोटहरू प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

विगत केही वर्षदेखि गाँजा खेतीबाट निरुत्साहित पर्साका किसान अहिले पुनः अवैध गाँजा खेतीमा लागेका छन् । जिल्लाको ठोरी, निर्मलबस्ती, बिजयबस्ती, जानकीटोलालगायतका ग्रामीण इलाकाका सयौं बीघा खेतमा गाँजा लगाइएको स्थानीय किसानले बताएका छन् । 

यो वर्षको अन्त्यसँगै स्थानीय, प्रदेश र संघको चुनाव शुरू हुने भएकाले चुनावलाई लक्षित गरी स्थानीय राजनीतिक अगुवाले संरक्षणको आश्वासन दिएको उनीहरूको भनाइ छ । स्थानीय अगुवाहरूको आश्वासन पाएका किसान गाँजा खेतीमा लागेका हुन् । 

भोटको पकड बलियो बनाउन केही राजनीतिक अगुवाहरूबाट संरक्षणको आश्वासन पाएको किसानको भनाइ छ । प्रतिबन्धित खेती विगतमा किसान, संरक्षणको चाँजोपाँजो मिलाउने बिचौलिया (स्थानीय अगुवा) र प्रहरी र प्रशासनका लागि कमाउने माध्यम बनेको थियो । 

जिल्ला प्रहरी कार्यालय पर्साले सूचना नै निकालेर गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको बताएको छ । गाँजा खेतीमा संलग्नलाई कानून बमोजिम कारवाही हुने चेतावनी प्रहरीले दिएको छ । गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको प्रहरीको दाबी छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्