ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

निक्षेप संकलन र परिचालनमा बैंकिङ क्षेत्र चुक्दै

२०७८ मंसिर, २  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतका रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशतभन्दा बढीको मुख्य स्रोत निक्षेप नै हो । हालका दिनमा अधिक तरलताको समस्या छ र अधिक लगानीले स्रोतको रूपमा रहेको निक्षेपको परिचालन गर्न बैंकिङ क्षेत्र चुक्दै गएका देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तारमा उदारीकरणको नीति अवलम्बनपछि त्यस्ता संस्थाहरूको संख्यात्मक र गुणात्मक वृद्धि भएको छ । कोभिड–१९ ले गर्दा सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून, विप्रेषणमा कमी र वित्तीय साक्षरता समेतको अभावको अवस्थामा निक्षेप संकलन र यसको परिचालन चुनौती पूर्ण बन्नु स्वाभाविक हो ।

हालका दिनहरूमा बैंकिङ क्षेत्रको ध्यान बढी संस्थागत निक्षेपतर्फ गएको र बैंकहरू शहरमुखी भएबाट पनि निक्षेपको स्रोत खुम्चिँदै गएको छ । संस्थागत निक्षेप संकलन सीमा सम्बन्धमा इजाजतपत्रप्राप्त संस्थाले कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन भन्ने व्यवस्था कायम नै छ । नेपालमा अधिक प्रतिशत जनता वित्तीय पहुँचभन्दा बाहिर छन् । वित्तीय स्रोत संकलनका लागि आन्तरिक होडबाजीलाई केही हदसम्म मत्थर गरी तरलता अभाव व्यवस्थापनका लागि विदेशबाट ऋण लिन समेत बाटो खुलेको छ पुनर्कर्जाको साथै विभिन्न वित्तीय उपकरणमार्फत नेपाल राष्ट्र बैंकले बजारमा रकम पठाइरहेको छ । तथापि तरलताको मागअनुसार पूर्तिमा अपेक्षित सुधार छैन

निक्षेप संकलनको दायरा नेपालमा प्रशस्त भए पनि ग्रामीण क्षेत्रको दूरदराजसम्म बैंकिङ पहुँच कमजोर छ । मुलुक संघीयतामा गएपछि बनेको ७५३ स्थानीय तहमध्ये हाल ७५१ बैंकिङ क्षेत्रको उपस्थिति देखिन्छ । हाल बैंकिङ क्षेत्रको कुल निक्षेप करीब रू. खर्बमा ४८०५ देखिन्छ । कर्जाको रूपमा यसको परिचालन करीब रू. खर्बमा ४५०६ देखिन्छ । अधिकांश बैंकहरूको सीसीडी ९० प्रतिशत कटेको देखिन्छ । निक्षेप संकलनमा होडबाजीको मुख्य कारण तरलतामा आएको न्यूनता हो । विकाससँग सम्बद्ध ठूला आयोजना र सरकारको प्राथमिकतामा परेको कृषि, उद्योग, वाणिज्य क्षेत्रसमेत आवस्यक रकम अभावमा प्रभावित भएका छन् ।

विप्रेषण आप्रवाह घट्दै गएको, आयात उच्च दरले बढेको, पूँजीगत खर्च हुन नसकेको, अनोपचारिक अर्थतन्त्र मौलाउँदै गएको, उत्पादनशील क्षेत्रमा भन्दा उपभोगको क्षेत्रमा कर्जाको विस्तार भएको, निक्षेप संकलनमा समस्या रहेकोजस्ता कारणले तरललतामा समस्या देखापरेको छ । ब्याजदर आफूअनुकूल हुनु, ब्याजदरमा स्थिरता नहुनु, स्रोत संकलनमा सरकार र केन्द्रीय बैंकमा बढी भर पर्नुजस्ता विषयले गर्दा बैंकिङ क्षेत्र निक्षेप संकलन र परिचालनमा चुक्दै गएको छ ।

बैंकिङ क्षेत्रको नाफाको प्रमुख आधार ऋण सापटी तथा लगानी नै हो । निक्षेप स्वरूप प्राप्त भएको रकमलाई बैंक तथा वित्तीय संस्थाहरूले धितो राखी वा विनाधितोमा व्यक्ति वा संस्थाहरूलाई ऋण लगानी गरेर यसको परिचालन गर्छन् । लगानीका रूपमा शेयरमा, अन्तरबैंक, ट्रेजरी बिल, बन्ड आदिमा परिचालन गरी निश्चित ब्याज आर्जन गरी नाफा वृद्धि गर्छन् । निक्षेपको परिचालनलाई हेर्दा नेपाल राष्ट्र बैंकमा राखिने अनिवार्य मौज्दात, अल्पकालीन सरकारी ऋणपत्रहरू, म्युचुअल फन्ड, शेयरमा लगानी, दीर्घकालीन ऋणपत्रहरू, विदेशी विनिमय, संयुक्त लगानी, कर्जा प्रवाह, स्थिर सम्पत्तिको खरीद, प्रशासनिक खर्च एव विविध खर्चहरू पर्छन् । लगानीका विभिन्न अवसर भए तापनि लगानीको ठूलो अंश धितोमुखी कर्जातर्फ केन्द्रित छ । उत्पादनमूलकभन्दा उपभोगतर्फ केन्द्रित भएकाले कर्जा असुली र तरलता व्यवस्थापनमा चुनौती थपिएको हो । निक्षेपको परिचालनका चुनौतीहरूमा कोभिड–१९, मुद्रास्फीति, बैंकिङ आदतमा कमी, पूँजी पलायन, अनौपचारिक क्षेत्र, ब्याजदर, राजनीतिक स्थिरता, आयस्तर, वित्तीय साक्षरता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटना, मौद्रिक तथा वित्तीय नीति, विप्रेषण आदि पर्छन् । यी चुनौतीहरूको कसरी सामना गर्ने भन्ने बारेमा समग्र बैंकिङ क्षेत्रले र अनुगमनकारी निकाय नेपाल राष्ट्र बैंक समेतले बेलैमा सोच्नुपर्ने अवस्था छ । निक्षेप परिचालनमा ध्यान दिनुपर्ने कुराहरूमा ग्राहक सेवा, प्रविधिको विकास, ग्राहक सन्तुष्टि र हेरचाह, कर्मचारीको मीठो र सिस्ट बोलीवचन, वित्तीय साक्षरता आदि विषय हुन् । ब्याजदर तथा मौद्रिक नीति, राजनीतिक अवस्था र प्रतिस्पर्धालाई समेत विशेष ध्यान दिनु जरुरी छ । निक्षेप बैंक तथा वित्तीय संस्थाको प्रमुख साधन भएको हुँदा यस साधनलाई बैंकहरूले आयमूलक कार्यमा र उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्छ । लगानीको दृष्टिकोणले चल्ती, बचतभन्दा मुद्दती निक्षेप तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बंैकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्नुपर्छ । वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्ने जस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतको रूपमा निक्षेप संकलनमा प्रभावकारिता आउने हुँदा हाल भइरहेको अस्वस्थ बैंकिङ होडबाजी समेतलाई नियन्त्रण गर्नु जरुरी छ ।

हालको समयमा थुप्रै मुलुक क्यासलेस भइसकेको कुरा सर्वविदितै छ । तसर्थ बैंकमा बचत गर्नुपर्छ र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ भन्ने सबन्धमा आम जनमानसमा साक्षरता दिने कुरालाई बैंकिङ क्षेत्रले अभियानकै रूपमा विकास गर्नुपर्छ । बचत जहाँबाट पनि गर्न सकिन्छ, बचत गर्दा ब्याज पाइन्छ, आफ्नो बचत गरेको रकम हराउने र चोरिने डर हुँदैन । बैंकमा राखेको पैसा आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ । कर्जा निकाल्न, विभिन्न आवश्यकताका सामान किन्दा भुक्तानी गर्न सजिलो हुन्छ । प्रविधिको प्रयोगमार्फत लाइनमा समेत बस्नु पर्दैन अर्थात् बैंक तथा वित्तीय सस्थामा भौतिक रूपमा उपस्थिति हुनु पर्दैन भन्नेतर्फ अधिकांश मानिसमा अझै पनि ज्ञान भएको देखिँदैन । तसर्थ यसतर्फ बैंकिङ क्षेत्रले विशेष चासो र कार्ययोजनाका साथ कार्य गर्नु नै तरलता समस्याको मुख्य समाधान हो ।

लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्