ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

यही अवस्थामा मेलम्चीको पानी काठमाडौं लैजान दिँदैनौं : नगरप्रमुख अर्याल

२०७८ मंसिर, २  
वाग्मती प्रदेश
Image Not Found

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले अहिलेकै अवस्थामा मेलम्चीको पानी काठमाडौं लैजान नदिने बताएका छन् । मेलम्चीमा मंगलवार भएको ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको ११औं वार्षिक साधारणभामा बोल्दै नगरप्रमुख अर्यालले मेलम्ची खानेपानी आयोजनाले मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोको कारण उत्पन्न समस्या समाधानमा पहलकदमी नगरे मेलम्चीको पानी काठमाडौं लैजान रोक्न सकिने चेतावनी दिएका हुन् ।

‘बाढीले यत्रो क्षति पुर्‍याएको देखिरहँदा पनि आयोजनाका पदाधिकारी किन चासो देखाउँदैनन् ? आयोजनास्थलमा भएका ढुंगा, गिट्टी लगायतको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा हामी पानी पठाउन सक्दैनौं,’ उनले भने, ‘वार्ताका लागि पटक–पटक आग्रह गरे पनि अहिलेसम्म पनि उहाँहरू सम्पर्कमा आउनु भएको छैन ।’ अर्यालले काठमाडौं बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजना स्थलमा आएर अध्ययन गर्न खानेपानी आयोजनालाई आग्रह गरे ।

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले पनि स्थानीयको सवाललाई ध्यान नदिएको भन्दै अर्यालले जिम्मेवारीका साथ दिगो योजना बनाएर मात्रै अगाडि बढ्न सुझाव दिए । ‘यो समितिले पनि नदी किनारमा भएका समस्या समाधान र संरक्षणका निम्ति कुनै कार्यक्रम ल्याएको देखिएन,’ उनले भने, ‘स्थानीयको प्रत्यक्ष सरोकारको विषयलाई ध्यान दिन जरुरी छ ।’

साधारणसभामा मेलम्ची खानेपानी आयोजनाको बोर्ड सदस्य चन्द्रबहादुर थापाले खानेपानीले बाढी प्रभावित क्षेत्रमा सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि यहाँका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले पनि आयोजनालाई उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजनका लागि अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘पक्कै पनि यहाँको स्थानीयको समस्या समाधान हुन्छ ।’

कार्यक्रममा समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित र बाढीको क्षतिबारे आगामी दिनमा खानेपानी आयोजना र मन्त्रालयलाई ध्यानाकर्षण गराइने बताए । आएका सुझावलाई आत्मसात् गर्दै मेलम्ची खानेपानी र सोसँग सम्बन्धित समस्या समाधान गर्न निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्