ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्यटकको पर्खाइमा भुकगाउँ

२०७८ मंसिर, २  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । घरको आँगनबाट देखिने हिमालका पंक्ति । चिटिक्क मिलेको गोरेटो बाटो । ढुंगाले छाएका घरहरू । बजारको कोलाहलबाट टाढा । गाउँलेको न्यानो आतिथ्यसहितको होमस्टे... । यो विशेषता पर्वतको पर्यटकीय गाउँ भुकगाउँको हो । कोरोना कहरपछि यो गाउँ पर्यटकको पखाईमा छ ।  

झन्डै एक दशकअघि नेपालमा शुरू भएको ‘इकोभिलेज’को अवधारणाले विस्तारै गति लिइरहेको बेला भुक पनि इकोभिलेजको रूपमा विकास हुँदै गएको छ । गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्न कलात्मक ढुंगाले बनाइएको करीब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका विरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायत कारण भूकमा कोरोनाकाल अघिसम्म पर्यटकको बाक्लो उपस्थिति हुने गरेको थियो । कोरोनापछि भने सुनसान जस्तै बनेको छ ।

‘कोरोनाभन्दा अघिसम्म त यहाँ पाहुनाको लाइनै लाग्थ्यो । कोरोनाले सुनसान बन्यो, हामी पनि अत्तालियौं,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब विस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ । यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो । अब त पर्यटक यहाँ आउनुपर्छ ।’

पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० ओटा ‘होमस्टे घर’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायत मनोरञ्जनात्मक गतिविधि समेत होमस्टेमा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले बताए । भुकगाउँ कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीसाधनमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो । पदयात्रा गर्दै जाँदा करीब चार घण्टा लाग्छ भने सवारीसाधनमा जाँदा करीब डेढ घण्टाजति लाग्छ ।

पर्वतका सातओटा पालिकामा गरी झन्डै ४५ ओटा होमस्टे छन् । कोरोना संक्रमणको दर घट्दै गएपछि होमस्टे विस्तारै तँग्रिन थालेका छन् । अहिले अधिकांश होमस्टे आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्