ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कार्यालय समय बाहिर हाकिमले कर्मचारीलाई सम्पर्क गर्नु गैरकानूनी...

२०७८ मंसिर, २  
र यो पनि
Image Not Found

मंसिर २, लिस्बन (पोर्चुगल) । पोर्चुगलले नयाँ श्रम कानून पारित गरेको छ । यसमा कार्यालय समय बाहिर कर्मचारीलाई सम्पर्क गर्न हाकिमहरुलाई बन्देज लगाइएको छ । नयाँ श्रम कानूनलाई यही महीनाको शुरुमा पोर्चुगलको संसदले पारित गरेको हो । 

कोरोना भाइरसको महामारीबीच घरबाटै काम गर्ने मानिसहरुको संख्या बढेकै समयमा नयाँ कानून ल्याइएको हो । नयाँ श्रम कानून प्रस्ताव गर्ने डकुमेन्ट अक्टोबरको अन्त्यमा सार्वजनिक गरिएको थियो । यसमा कामदारहरुलाई कम्तिमा पनि ११ घन्टा निरन्तर रात्रीकालीन आरामको अधिकार भएको उल्लेख गरिएको छ । यस अवधिमा उनीहरुलाई आकस्मिक नै नपर्दासम्म हस्तक्षेप गर्न नहुने भनेर बताइएको छ । 

कानूनमा कर्मचारीहरुको वर्क–फ्रम–होमको लागि लाग्ने इन्टरनेट र बिजुली  जस्ता खर्चहरु पनि बेहोर्नु पर्ने भनेर उल्लेख गरिएको छ । यस बाहेक, हाकिमहरुले हरेक दुई महीनाका कर्मचारीहरुलाई आमुने सामुने भेटघाट गर्न सक्ने बताइएको छ । महामारीले टेलिकम्युनिकेटिङलाई ‘गेम चन्जर’को रुपमा देखाएको र कर्मचारीहरुलाई कहाँबाट अनि कसका लागि काम गर्न चाहेको हो भन्ने निर्णय गर्ने अधिकार पनि दिएको पोर्चुगलका श्रम मन्त्री मेन्देस गोदिन्होले हालै लिस्बनमा भएको एक अनलाइन सम्मेलनमा भनेका थिए । 

कानूनको पालना नगर्ने रोजगारदाताहरुलाई जरिवाना पनि  तिराउन सकिनेछ । तर यो कानून १० जना वा सो भन्दा कम संख्यामा कर्मचारी भएका कम्पनीहरुमाथि लागू हुने छैन । यद्यपि, प्रस्तावित सबै नियमहरुलाई कानून निर्माताहरुले अनुमोदन गरेका छैनन् । 

कर्मचारीहरुलाई दिनको अन्त्यमा काम गर्ने उपकरणलाई डिस्कनेक्ट गर्ने वा बन्द गर्ने अधिकार दिने प्रस्तावलाई पारित गरिएको छैन । फ्रान्स र स्पेन लगायत केही यूरोपेली देशहरुले कर्मचारीहरुलाई केही स्वरुपमा ‘डिस्कनेक्ट गर्ने अधिकार’ दिने कानून ल्याएका छन् । बेलायतमा पनि यसको लागि आवाज उठिरहेको छ ।

कोरोना भाइरसको महामारीबीच मानिसहरुले घरबाट लामो समय काम गरिरहेको पछिल्लो समय सार्वजनिक भएका कयौं डेटाहरुले देखाएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्