ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेशनल पेमेन्ट स्वीचमा २९ वित्तीय संस्था आबद्ध

२०७८ मंसिर, ३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचल) ले सञ्चालनमा ल्याउन लागेको नेशनल पेमेन्ट स्वीचमा २९ ओटा बैंक तथा वित्तिय संस्था आबद्ध भएका छन् । नेशनल पेमेन्ट स्वीचमा पहिलो चरणमा त्यस बराबरको वित्तीय संस्थाहरू आबद्ध भएका हुन् ।

बिहीवार एक औपचारिक कार्यक्रम गरेर एनसीएचल र सम्बद्ध वित्तीय संस्थाहरू बीच सम्झौता पनि भएको छ । एनसीएचएल तथा सम्बद्ध बैंक वित्तीयका प्रतिनिधिहरूले सम्झौतापत्र एकआपसमा आदानप्रदान गरेका हुन् ।

नेशनल पेमेन्ट स्वीचमा १८ वाणिज्य बैक, पाँचओटा विकास बैंक तथा ६ ओटा फाइनान्स कम्पनी गरी २९ बैंक वित्तीय संस्थाहरू आबद्ध भएका छन् । यसैगरी अन्य बैंक÷वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउने बताइएको छ ।

कार्डबाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरू प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको बताइएको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरणहरू उपलब्ध हुनेछन् ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बद्ध भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको बताइएको छ ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थपसहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्