ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कृषकलाई तरकारीका ६ हजार बिरुवा वितरण

२०७८ मंसिर, ३  
गण्डकी प्रदेश
NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको फलेवास नगरपालिकाले किसानलाई तरकारीका ६ हजार बिरुवा वितरण गरेको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडामा रहेका कृषकलाई तरकारीको बीउ वितरण गरिएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले विगत ३ वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम ‘क्लिन फलेवास ग्रीन फलेवास’ अभियान अन्तर्गत एक घर एक बगैंचा कार्यक्रम र क्लिन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए ।

नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मुला, सलगम, पालुंगो, गाजर, धनियाँ लगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले यस वर्ष क्लिन हाउस ग्रीन हाउस कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेटवाट बीउ वितरण गरिएको उनको भनाइ छ । ‘नगरपालिकाकाभरिका करिब ६ हजार घरधुरीमा प्रतिघरधुरी ७० रुपैयाँ बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ,’ उनले भने, ‘कृषकले मौसम अनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।’ यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आर्थिक वर्ष २०७६/७७ मा फलेवासका नगरका ११ ओटै वडामा करीब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ ।

फलेवासले नगरभित्रका व्यावसायिक किसानका लागि तरकारी उत्पादन वृद्धि गर्न छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देवीस्थानका अगुवा कृषक देवीप्रसाद भुसालले बताए । तरकारीको बीउ शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फार्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ ल्याएर किसानलाई वितरण गरिएको उनको भनाइ छ ।

कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यसअघि निःशुल्क रूपमा फलफूलका बिरुवा समेत वितरण गरेको थियो । यस्तै बाँझो जमीनमा खेती गर्नेलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसम अनुसारका फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्