ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने

२०७८ मंसिर, ३  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए ।

यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्