ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सोच बदलौं

२०७८ मंसिर, ३  
तीतो मीठो
author avatar मदन लम्साल

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ ।

शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं ।

अरू देशमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकोले पेट्रोलियमको भाउ बढ्छ । हाम्रो देशमा भने तेलमा नेता र कर्मचारीको कमाउने दाउका कारण भाउ बढ्छ । अरू देशमा बढेको भाउ घट्छ पनि । तर नेपालमा भाउ एकपटक उकालो लागेपछि ओर्लन मान्दै मान्दैन । पेट्रोलियमको भाउ बढेपछि यसले यातायातमा र त्यसको प्रभावले सबै क्षेत्रमा महँगी त बढाउने नै भयो । लोभको सीमा छैन । महँगीको बीमा छैन ।

फेरि यो हिजोआज मात्र थालिएको खेल होइन । यो दशकौंदेखि चलिरहेको झेल हो । त्यसैले यदि तपाईं हामीले यो परिस्थिति बदल्न सक्तैनौं भने आउनोस् मनस्थिति नै बदलौं, अर्थात् यै कुरालाई अर्को कोणबाट हेरौं ।

महँगी बढेन भने के हुन्छ ? महँगी बढेन भने त जुन कामका लागि सरकार बनाएको हो, त्यो पूरा हुँदैन नि त ! त्यसैले सरकारले महँगी बढायो भन्नुको मतलव सरकार विकासप्रति प्रतिबद्ध छ भन्ने हो । अर्थशास्त्रले मूल्यवृद्धि हुनुलाई अर्थतन्त्रको विस्तारको द्योतक मान्छ क्यारे ! त्यसैले त भनेको सरकार राष्ट्रहितमा लाग्या लाग्यै छ । त्यै भएर पेट्रोलियमको भाउ बढाको बढाई गर्छ । किनकि ऊ चाहन्छ, मानिसहरू पैदलै हिँडून् । तपाईंलाई थाहै छ पैदल हिँड्नुका फाइदाहरू । भनिन्छ पेट र पेट्रोलियम बढ्यो भने कि पैदल हिँड्नु, कि साइकल चलाउनु, दुवै फाइदाजनक हुन्छन् । यूरोपका मानिसले गाडी छाडेर साइकल चढ्न थालेका छन् । हामी पनि विकसित बन्न त्यसकै नक्कल गर्न परेन ?

सरकारले आफ्नो मूल्य घटाएरै भए पनि थुप्रै कुराहरूको भाउ बढाइदिएको छ । उदाहरणका लागि, केही समयअघि मात्र सरकारले गाडीमा हाल्ने तेलको मात्र हैन, पेटमा हाल्ने तेल अर्थात् खाने तेलको पनि भाउ ह्वात्तै बढाउने अनुमति द्या थ्यो । यो मान्छेले तेल कम प्रयोग गरून् भनेरै हो । तेल कम खानुको फाइदा सबैलाई थाहै छ । अब जनता तेल धेरै खाएर कोलेस्टेरोल बढेका कारण हृदयाघातबाट मर्ने छैनन् । मानिसहरू सडक दुर्घटनाबाट र भोक र झोँकबाट मर्न सक्छन् । तर हृदयरोगका कारण चैं मर्नै पाउन्नन् । त्यसैले डार्बिनको सिद्धान्त लागू गरौं, अर्थात् यति बढ्दो महँगीमा जो टिक्न सक्छ, उही नै बाँच्छ भन्ने कुरा बुझौं ।

फेरि यो महँगी, बेरोजगारी भन्ने नै बेमतलवका कुरा हुन् । पढाइ लेखाइ टाइम पासका लागि गरिने कुरा हुन् । लकडाउनमा त्यत्रा शैक्षिक संस्था बन्द भए । त्यसले कसैलाई केही फरक पर्‍यो ? परेन नि । फरक परेको भए त देखिनुपर्ने हो । खाने तेलको मूल्य एकैचोटि १६० बाट २८० रुपैयाँ पुग्दा कोही बोल्दैनन् । विद्यार्थी संगठनहरू पनि शिक्षाको गुणस्तर, विद्यार्थीलाई के पढाउने वा रोजगारी कसरी बढाउने विषयमा बोल्दैनन् । तर पेट्रोलियममा २/४ रुपियाँ बढ्दा सडकमा टाएर बाल्छन् । के नमिलेको नमिलेको क्या !

त्यसैले, यो जागीर खाने, विदेश जाने, देशको विकास हुने वा नहुने यी सबै भाग्यका कुरा हुन् । भाग्यमा भए काम बन्छ, नभए बन्दैन । भाग्यमा भए जागीर पाइन्छ, नभए पाइँदैन । हुन पनि खाली हात आएको हो, खाली हात नै जाने पनि हो । जिन्दगीको मजा त त्यहाँ छ, जहाँ बाँचिन्छ पनि खाली हात नै, हामी प्रायः नेपालीले खाली हात बाँचेजसरी । यस्ता कुरा विदेशीहरूलाई के था ?

विदेशीहरूले यस्ता कुरा बुझ्दै बुझ्दैनन् । त्यसैले उनीहरूको देशमा र हाम्रोमा धेरै कुरा उल्टोपाल्टो जस्तो लाग्छ । उनीहरू स्वास्थ्य र शिक्षालाई समृद्धिको मूल आधार मानेर काम गर्छन् । हाम्रो ठीक उल्टो । किनकि, उनीहरूकोमा शिक्षा र स्वास्थ्य सेवा हो, हाम्रोमा व्यापार ।

हाम्रोमा चैं यस्तो किन त भनेर नसोध्नुहोला । किनकि तपैंलाई थाहै छ हाम्रो यहाँका मान्छेका सोच नै फरक, नीति र राजनीति नै फरक । नेताहरू आफूलाई भगवान् र जनतालाई भक्त सम्झेर व्यवहार गर्छन् । राजनीति र डकैतीमा केवल चुनावी आवरण मात्र बाँकी रहेको छ । त्यसो त समाजमा पनि मन्त्री र सांसदभन्दा त डाँकाहरूकै इज्जत बढी होला । केवल एउटा कुरा फरक परेका कारण मात्र डाँकाहरू अलि पछि छन् कि भन्ने देखिएको हो । त्यो के भने डाँकासँग सांसदको लोगो र संसद् भवन छिर्ने पास हुँदैन । त्यसका लागि चुनाव त लड्नैपर्छ । त्यत्ति हो ।

त्यसैले आउनोस्, सोच बदलौं । सरकारले जे जे भन्छ, त्यसैमा विश्वास गरेर चलौं । सरकारी निकायहरूको काममा पनि विश्वास गरौं । उनीहरूले दिने तथ्यांकलाई मिथ्यांक नठानौं ।

शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । सवारी लाइसेन्स वर्षौं बित्दा पनि पाइएको छैन भने सरकार सडक दुर्घटना कम गराउन लागिपरेको छ भनेर बुझौं ।

सरकारले विकासका लागि खर्च गरेन नभनौं, पैसा बचत गरेको छ भनौं । सरकारले ढिलासुस्ती गर्‍यो नभनौं, जनतालाई हतार नगर्न सिकाएको हो भनौं । धारामा खानेपानी आइरहेको छैन भने विकल्पमा फेरि ट्यांकर वा जारको पानी नै रोजौं । शैक्षिक संस्थामा पढाइ भइरहेको छैन भने युट्युब हेरेरै डिग्री हासिल गरौं । स्वास्थ्य बिग्रियो, अस्पताल जान पैसा छैन भने झारपात, बेसारपानी खाएर वा धामीकहाँ धाएर रोक निको पारौं ।

यसरी सोच्न थाले जीवन जीउन अलि सजिलो होला कि त ? फूलको आँखामा फूलै संसार भन्छन् नि, त्यस्तै । फेरि गीतामा भनेजस्तै, कर्ममा मात्र हाम्रो अधिकार छ, फलमा छैन क्यारे ! अनि यो महँगी घट्नु वा बढ्नु, काम हुनु वा नहुनुमा पनि हाम्रो हात छैन । त्यसैले बरु गीता बारम्बार पढौं र ज्ञानी भएर बसौं है !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्