ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आर्थिक विकासको आधार सहकारी

२०७८ मंसिर, ३  
लेख | दृष्टिकोण
Image Not Found

सहकारीले समान उद्देश्य, पेशा, व्यवसाय र वर्गका मानिसहरू सँगसँगै मिलेर आफ्नो आर्थिक तथा सामाजिक विकासका लागि गरिने कार्यलाइ बुझाउँछ । सर्वप्रथम सन् १९९५ को सेप्टेम्बरमा बेलायतको म्यान्चेस्टर शहरमा भएको अन्तरराष्ट्रिय सहकारी महासंघको महासभाले सहकारीलाई परिभाषित गरेको हो । नेपालको सन्दर्भमा चितवन जिल्लाको बखानपुर ऋण सहकारी समिति पहिलो सहकारी संस्था हो, जसको स्थापना विसं २०१३ मा तत्कालीन सरकारको कार्यकारी आदेशमा भएको थियो ।

हाम्रो समाजमा परम्परागत रूपमा धेरै पहिलेदेखि सहकारीको अभ्यासहरू हुँदै आएको पाइन्छ । तत्कालीन समयमा पर्म, ढिकुटी, मङकाखल, गुठीजस्ता अनेकाैं नाम र रूपमा जनस्तरबाटै हालको सहकारी संस्थाले गर्ने जस्तै कार्य गरिन्थ्यो । सहकारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले सहकारी संस्था ऐन २०१६, सहकारी नियम २०१८, साझा संस्था ऐन २०४१ तथा साझा संस्था नियमावली २०४३ जारी गरेको पाइन्छ । पछिल्लो समय सहकारीको तीव्र रूपमा विकास भइरहेको देखिन्छ ।

सहकारी संस्था एउटा प्रजातान्त्रिक संगठन हो र यो त्यहाँका सदस्यहरूले स्वीकार गरेको विधिबाट निर्वाचित वा नियुक्त व्यक्तिबाट सञ्चालित हन्छ । आर्थिक कारोबारबाट प्राप्त हुने प्रतिफलमा सम्पूर्ण सदस्यहरूको समान हक हुन्छ । समाजमा ससानो रूपमा रहेको पूँजीलाई संकलन गर्दै ठूलो रकममा परिणत गराइ मुनाफा लिन सकिने क्षेत्रमा लगानी गर्दै सहकारी संस्था अगाडि बढेको हुन्छ ।

सहकारीले समाजमा पिछडिएर रहेका सम्पूर्ण जाति, वर्ग, लिंग र पेशामा संलग्न भएका मानिसहरूलाइ संगठनमा आबद्ध गराई खेर गइरहेको विद्यमान क्षमताको परिचालन गर्न सहयोग गर्छ । विपन्न समुदायका मानिसहरूलाई सहकारी संस्थाबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन्छ, जसले उनीहरूलाई धेरै राहतको अनुभूतिसमेत गराएको पाइन्छ । सहकारीमार्फत दुग्ध उत्पादन, बेमौसमी तरकारी उत्पादन, कुखुरा पालन, बाख्रापालन, माछापालनजस्ता व्यवसाय गरी समूहमा मिलेर रोजगारी सृजना तथा सदस्यहरू सबैको आर्थिक अवस्थामा समेत वृद्धि भइरहेको छ ।

रोजगारीकै लागि दैनिक १ हजार ५ सय युवा विदेश जान बाध्य भएको सन्दर्भमा हामीले सहकारीमार्फत समूह बनाएर आय आर्जनका अनेकौं व्यवसाय गर्दै स्वदेशमा नै रोजगारी र आम्दानीको मार्ग अवलम्बन गर्न सक्छांै । नाफा र मूल्यको सृजना गर्न, घरआँगनमा नै रोजगारीका अवसर जुटाउन, स्रोतहरूलाई सदुपयोग गर्न, बजार सृजना गर्न, प्रतिभा पलायनलाई रोक्न, कृषिलाई आधुनिकीकरण गर्न, व्यावसायिक र बजारीकरण गर्न, सभ्य र सुसम्पन्न समाजको निर्माण गर्न, समाजका नागरिकहरूलाई नगद आर्जन गर्न सक्ने बनाउन, ग्रामीण इलाकामा उद्योगको स्थापना गर्न र व्यवस्थापन गर्न सहकारीले अहम् भूमिका निर्वाह गरेको हुन्छ ।

सहकारीले गरीबी निवारणमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । ग्रामीण भेगमा सहकारीमार्फत घरेलु उद्योग स्थापना गरी विपन्न परिवारका हजाराैं मानिसहरूको जीवनस्तर सुधार गर्न सकिन्छ । समूह निर्माण गरी पूँजी संकलन गर्दै उद्योग सञ्चालन गरेर रोजगारीको अवसरका साथै सानो लगानीबाट दीर्घकालीन आयको माध्यम बनाउँदै सहकारीमा आवाद सदस्यहरूको जीवनस्तर सुधार्न सकिन्छ । नयाँनयाँ सम्भावना र आवश्यकता पहिचानमा यस्ता संस्थाहरूले सहयोग गरेका छन् । त्यति मात्र नभई सहकारीबाट सयौं व्यक्तिले नेतृत्व विकास गर्ने अवसर पनि प्राप्त गरिरहेका छन् ।  

यसरी शीप विकास, नेतृत्व विकास, पूँजी संकलन, नाफामूलक क्षेत्रमा लगानी कार्यमा सहकारीले धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । सहकारीले मानिसलाई मितव्ययी बनाउन सिकाउँछ भने आपसमा सहयोग गर्ने र संगठित बनेर सामूहिक रूपमा समस्याको समाधान गर्ने परिपाटीको समेत विकास गराएको छ । सदस्यहरूको सक्रिय सहभागिता रहने प्रजातान्त्रिक विधि नै संगठनका आर्थिक सामाजिक क्रियाकलापहरूलाई सुव्यवस्थित सर्वोत्तम विधिको अवलम्बन गरिएको हुन्छ । सदस्यहरूबीच समान व्यवहार गरिन्छ भने समूहभित्र कसैलाई मर्का पर्दा मिलेर त्यसको न्यायोचित ढंगले निरूपण गरिन्छ ।

सहकारी भनेको एकता माथिको विश्वास हो । समान आकांक्षा राख्ने मानिसहरूले एकजुट भएर प्रयास गरी अगाडि बढेका हुन्छन् । खुलापन यसको विशेषता हो । यसको सदस्य बन्नका लागि सधैं खुला रहन्छ भने सदस्यता त्याग गर्न पनि सहजै सकिन्छ । ग्रामीण क्षेत्रको विकासका लागि योजना निर्माण तथा जनसहभागिता वृद्धि गर्नसमेत सहकारी महत्त्वपूर्ण माध्यम बन्नसक्छ । हाल नेपालमा ३० हजार सहकारी संस्था दर्ता भई कार्य गरिरहेको छ जसमा कूल पैतालिस हजार मानिसहरू सहभागी रहेको तथ्य भेटिन्छ ।

पछिल्लो समयमा केही सहकारीले गलत कार्य गरेका कारण आम नागरिकमा नकारात्मक सन्देश प्रवाहसमेत भएको थियो । तर, विस्तारै सहकारीलाई नियमन तथा प्रभावकारी अनुगमन गर्न थालिए पछि सहकारीमा भएका बेथितिहरू क्रमशः न्यून हुँदै गएको देखिन्छ । कुनै सहकारीले गलत कार्य गरे भनेर सबैलाई एउटै दृष्टिले हेर्ने गर्नु उचित होइन । सहकारीलाई अझ प्रभावकारी बनाउन यसका मूल्यमान्यता र सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्छ । कतिपय सहकारी विविध कारणले कमजोर भएको कारण दुई संस्था आपसमा गाभिएका पनि दर्जनाैं छन् । हाम्रो जस्तो बेरोजगारीको समस्यालाई केही मात्र भने पनि कम गर्न, सामूहिक व्यवसाय गरी लाभ लिन, छरिएको पूँजीलाई एकत्रित गर्न, उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक लाभ प्राप्त गर्न सहकारी ज्यादै उपयोगी र महत्त्वपूर्ण सावित भएको छ ।

सहकारीमार्फत अनेकौं पेशा तथा व्यवसाय सञ्चालन गरी पर्याप्त मात्रामा आय आर्जन गर्न सकिन्छ । सहकारीको महत्त्वपूर्ण विशेषता भनेकै सामूहिकता भएकाले समूहमा मिलेर विभिन्न प्रकारका आयमूलक कार्य गर्दै आर्थिक रूपमा सबल बन्न सकिन्छ । पछिल्ला केही वर्षयता बैंकहरू ग्रामीण क्षेत्रमा पुग्न थालेका छन् नत्र भने सहकारी मात्र हरेक गाउँमा पुग्ने संस्था थियो । आज पनि जति सहज र सरल रूपमा सहकारी संस्था नै रहेको देखिन्छ । बैंकसँग सर्वसाधारण नागरिकको सहज पहुँच अझै पनि छैन ।

लेखक विश्वशान्ति क्याम्पसमा अध्यापन गर्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्