ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : जग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

२०७८ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको उल्लेख छ । 

सर्वेक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७६/ ७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको उल्लेख छ । मालपोतको तथ्यांकभन्दा बैंकहरुबाट प्राप्त तथ्यांकले घरजग्गा झन महंगिएको देखाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

 मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमनको लागि घरजग्गा मूल्य सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

प्रतिवेदनमा घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई आधार बनाएर २० ओटा जिल्लाका २० ओटा स्थानलाई छनोट गरिएको हो ।

प्रतिवेदनमा मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० ओटा गरी कुल १० हजार ३३६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको उल्लेख छ । 

यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३३२ र १ हजार १४४ गरी कुल २ हजार ४७६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकन सम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको पनि उसले बताएको छ ।

केन्द्रीय बैंकले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरेको बताएको छ । साथै उसले यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गरिने पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्