ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

खुम्चियो घरजग्गाको मूल्यवृद्धि

२०७८ मंसिर, ५  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।

मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महीनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०७६/७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो ।

यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ ।

कोरोना महामारीका कारण घरजग्गाा कारोबारमा शिथिलता आउँदा मूल्यवृद्धि पनि कम भएको राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

‘हामीले नेपालमा घरजग्गाको मूल्य सूचकांकका विषयमा अध्ययन गर्ने प्रयास गरेका थियौं । त्यसमा सफल भइयो,’ उनले भने, ‘उक्त अध्ययनले पछिल्लो समय नेपालमा घरजग्गाको मूल्यवृद्धि कम भएको देखियो ।’ वित्तीय क्षेत्र विकास रणनीतिमा घरजग्गाको मूल्य सूचकांक तयार गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको थियो । त्यसअनुसार राष्ट्र बैंकले २०७४ देखि यस सम्बन्धमा प्रारम्भिक काम शुरू गरेको थियो । त्यसमा आव २०७५/७६ लाई आधार वर्षका रूपमा लिई घरजग्गा मूल्यको सर्वेक्षण गरिएको छ ।

जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकांकमा समावेश गर्न नसकिएको राष्ट्र बैंकको भनाइ छ । घरजग्गाको बढी कारोबार हुने स्थानहरू छिटोछिटो परिवर्तन हुने भएकाले अद्यावधिक मूल्य सर्वेक्षण कार्य ५ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्