ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान हर्षित

२०७८ मंसिर, ५  
प्रदेश ०१
Image Not Found

मंसिर ५, भोजपुर । बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् ।

चार/पाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेका छन् ।

गत वर्ष ८ देखि १० हजारमा विक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रू. २६ देखि २८ हजारसम्ममा विक्री भइरहेको किसान एकराज विष्टले जानकारी दिए । उनले भने, ‘केही वर्ष अघिबाट मूल्यमा गिरावट आइरहेको थियो । यसवर्ष मूल्यमा वृद्धि भएको छ । अहिले घरबाट नै प्रतिमन रू. २६ देखि २८ हजारसम्ममा विक्री भइरहेको छ ।’ 

यस अघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिकखेती छाड्दै गएका थिए । तर यस वर्षबाट मूल्य बढेपछि उनीहरु यसको विस्तारमा जुटेको किसान उनको भनाइ छ ।

विष्टले भने, ‘११ रोपनी बारीमा चिराइतोखेती गरिरहेको छु । मूल्य बर्सेनि वृद्धि हुनको साटो घटेका कारण मनमा उत्साह कम थियो, तर यस वर्ष केही भए पनि मूल्य बढेको छ । म जस्ता किसानमा खुसी थपिएको छ  । गतवर्ष मैले  प्रतिमन रू. ६ हजारमा विक्री गरेको थिए ।’

परिवारसँग बसेर आफ्नै ठाउँमा गरिनेखेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मूल्य पनि ठिकै रहेको किसान विष्टको भनाइ छ ।

‘निरन्तर खेती गरिरहेकोले एक न एक दिन राम्रो मूल्य पाउनेमा म आशावादी थिए । मेहनत अनुसारको मूल्य त छैन तर अहिले पाएको मूल्य अन्यबालीको तुलनामा ठिकै छ, निरन्तर रुपमा खेती गरिरहेको छु, । यस वर्ष केही राम्रो मूल्य लिन पाएँ ।’ उनले भने ।  

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय किसान देवबहादुर विष्टले जानकारी दिए । 

उनले भने, ‘यसको महत्व धेरै छ । पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीले व्यावसायिकखेती गरिरहनु भएको छ । सोचे जस्तो मूल्य नपाए पनि विदेशमा गएर दुःख गर्नु भन्दा यो आम्दानी पनि राम्रै छ ।’ मनको थोरै मूल्य भए पनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसान बताउँछन् ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यावसायीको भनाइ छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । 

टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा छन् । 

जिल्लामा गतवर्ष ३३ हजार ४०० केजी चिराइतो उत्पादन भएको सो कार्यालयले जानकारी दिएको छ । खेती विस्तारका लागि जिल्लाको माथिल्लो भेगका किसानलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्