ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

चितवनमा चालक अनुमतिपत्र नवीकरण प्रविधिको परीक्षण शुरु 

२०७८ मंसिर, ५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ५, चितवन । लामोसमयको प्रतिक्षापछि चितवनमा चालक अनुमतिपत्रको नवीकरण प्रविधि परीक्षण शुरु गरिएको छ । 

यातायात व्यवस्था कार्यालय चितवनले शनिवार एक कार्यक्रमका बीच उक्त प्रविधि जडान गरी परीक्षण शुरु गरेको हो । कार्यालय प्रमुख विनोद पौडेलले यातायात व्यवस्था विभागका प्राविधिककको सहयोगमा  उक्त प्रविधि जडान गरिएको जानकारी दिए । उनका अनुसार आउँदो आइतवारसम्ममा प्रविधिको परीक्षण गरिने र यसपछि सेवा शुरु गरिनेछ । 

सेवाग्राहीले अनुमतिपत्र नवीकरण गर्न आउँदा आफ्नो अनुमति सफ्टवेयरबाट रुजु गर्नुपर्नेछ । सप्टवेयरमा यसअघिनै अनुमतिपत्रको बायोमेट्रिक गरेर सबै विवरण  निश्चित भएपछि चालकको सामान्य स्वास्थ्य परीक्षण गरिनेछ ।

 चालक रक्त समुह, आँखा परीक्षण र अन्य अंगभग भए/ नभएको जाँच भएपछि मात्र चालकले आफ्नो सम्पूर्ण विवरण सुनिश्चित र स्वीकृत भएपछि नवीकरण दस्तुर तिरी आफ्नो अनुमतिपत्र नवीकरण गर्न सकिने  उनले जानकारी दिए ।  

कार्यालयले अनुमतिपत्र नवीकरणका साथै नयाँ अनुमति पत्र वितरणका लागि कार्यालयले प्रक्रिया शुरु गरेको समेत जानकारी दिएको छ । ‘नयाँ अनुमतिपत्र बाहेक सबै सेवा दिन सक्ने अवस्थामा पुग्यौं’, प्रमुख पौडेलले भने, ‘नयाँ अनुमति पत्रको लागि सरोकार निकायसँग छलफल भइरहेको छ ।’ हालको भाडाको भवनबाट नयाँ चालक अनुमति पत्र दिन नसक्ने भन्दै उनले थप क्षेत्रफल र भवनको आवश्यकता पर्ने बताए । 
कात्तिक महीनामा साढे ६ करोड राजस्व संकलन 

कार्यालयले कात्तिक महीनामा सबै शिर्षक गरी ६ करोड ५२ लाख १ हजार २४८ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक, जरिवाना र जफत, सवारी साधन कर र चालक अनुमति पत्र, सवारी दर्ता किताव दस्तुर शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । यसमध्ये सबैभन्दा बढी सवारीसाधन कर शिर्षकबाट ५ करोड ३४ लाख ६९ हजार ५२८ रुपैयाँ राजस्व संकलन  भएको छ ।

यसैगरी यातायात क्षेत्रको आम्दानीबाट ४८ लाख १० हजार ५८५ रुपैयाँ, प्रशासनिक जरिवाना र जफत शिर्षकबाट २६ लाख ३६ हजार ३९० र चालक अनुमति पत्र, सवारी दर्ता दस्तुर शिर्षकबाट ४२ लाख ८४ हजार ८४५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले बताएको छ । 

चालू आर्थिक वर्षको कात्तिक महीनासम्म २४ करोड ५० लाख ६९ हजार ८४१ रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले चार महीनाको   अवधिमा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख पौडेलले बताए ।  कार्यालयले चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने लक्ष्य लिएके छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्