ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मुस्ताङमा यो वर्ष स्याउ उत्पादन बढ्दा ५५ करोड रुपैयाँ भित्रियो       

२०७८ मंसिर, ५  
गण्डकी प्रदेश
Image Not Found

मंसिर ५, म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ ।

मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष ५ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष ५ हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए। उनका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।     
     
क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो । उनका अनुसार ५२० हेक्टर क्षेत्रफलमा लगाइएको १ लाख ५० हजार बोटले फल दिन्छन् । मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले ५५ करोड रुपैयाँ भित्र्याएका छन् । प्रतिकिलो १०० रुपैयाँका दरले स्याउ विक्री भएको थियो ।     
     
मुस्ताङको १ हजार ४४० हेक्टर जमीनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष १ हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमीनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।     
     
केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा २ हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा १ हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।     
     
यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । ८० प्रतिशत स्याउ दशैंतिहारमा जिल्ला बाहिरिएको थियो । विक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा विक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।     
     
मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्