ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

किसानलाई अनुदानमा गहुँ

२०७८ मंसिर, ६  
सुदूरपश्चिम प्रदेश
NA

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।    
 
गाउँपालिकाले किसानको उत्पादन बढाउन गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको बताएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमीनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए ।
‘हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौं,’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौं ।’

पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, वाणगंगालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरीले बताए । ‘कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो,’ चौधरीले भने, ‘हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौं ।’

अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहेका छन् ।
कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्वर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनौं सहकारीले बीउ प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्