ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

धनगढी सिटीहल निर्माण अन्तिम चरणमा

२०७८ मंसिर, ६  
सुदूरपश्चिम प्रदेश
Image Not Found

धनगढी । नेपाल सरकारको रू. साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा सुविधासम्पन्न सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा क्षेत्रफलमा रहेको उक्त सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ भइरहेको छ ।

राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहर्सल हल छन् । करीब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको संघीय योजना कार्यान्वयन एकाइ धनगढीले जानकारी दिएको छ । संघीय योजना कार्यान्वयन एकाइका इञ्जिनीयर पूजन न्यौपानेले फल्ससिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताए । मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी उनले दिए ।

कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्नेगरी काम भइरहेको इञ्जिनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको उनले बताए । साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ ।

सिटीहल निर्माणका लागि रू. एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमीन खरीद गरिएको थियो । इञ्जिनियर न्यौपानेले हालसम्म रू. २२ करोड ६६ लाख खर्च भइसकेको बताए । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जानकारी दिइएको छ ।

धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताए । कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्