ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुुग्ध पदार्थको मूल्य बढाउने तयारी

२०७८ मंसिर, ७  
समाचार
NA

काठमाडौं (अस) । सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो ।

महामारीका कारण उत्पन्न असहज परिस्थितिले पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएको छ । यसले दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउन लागिएको बताइएको छ । राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्य अनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ छ । यस्तै गुणस्तर र कम्पनी अनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म रहेको छ ।

दूध तथा दुग्ध पदार्थको मूल्य कति बढाउने भन्नेबारे सरोकारवाला निकायका अधिकारीहरूबीच छलफल भइरहेको भए पनि अझै टुंगो लागिनसकेको संस्थानका सूचना अधिकृत बालक चौधरीले बताए । यद्यपि प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । दूधको मूल्य नबढाएसम्म आफूहरूले आफ्नो श्रमको मूल्य नपाउने दुग्ध उत्पादक किसानले जनाएका छन् । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये १२ देखि १७ प्रतिशत औपचारिक क्षेत्रमा आउने गरेको तथ्यांक छ । औपचारिक क्षेत्रमा विक्री हुने दूधबाट हरेक दिन ५ लाखदेखि ७ लाख रुपैयाँ शहरबाट गाउँ जाने गरेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्