ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

हस्तकला व्यापार मेलामा आठ करोडको कारोबार

२०७८ मंसिर, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्वारा काठमाडौंको हायात होटलमा आयोजित तीन दिने मेलामा करिब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

शुक्रबारदेखि आइतबारसम्म चलेको मेला समापन अवसरमा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेला एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले जानकारी दिए ।

महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला–संस्कृति संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यसलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उक्त अवसरमा १६ औं कला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइबरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम भइन् भने पुन महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भएको महासंघले जनाएको छ ।

त्यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र वज्राचार्य प्रथम, राजु वज्राचार्य द्वितीय र राम वज्राचार्य तृतीय भए । प्रथम द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

पुरस्कृतको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिता संयोजक राजमान वज्राचार्यले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको मेलाको समापन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेका हुन् ।

मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेका थिए । मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत अर्मूत सांस्कृतिक सम्पदाको उजागर, विभिन्न विधामा जीवनपर्यन्त संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकार र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्