ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

करलाई दायित्व र अवसरको रूपमा लिनुपर्नेमा जोड

२०७८ मंसिर, ८  
वाग्मती प्रदेश
NA

चितवन (अस) । करलाई दायित्व र अवसरको रूपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । आन्तरिक राजस्व कार्यालय, भरतपुरमा हालै आयोजित सप्ताहव्यापी कर दिवस विशेष कार्यक्रममा सहभागी वक्ताहरूले करलाई डरको रूपमा नलिई अवसरको रूपमा लिन आग्रह गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले पछल्लो समय कर कार्यालय र उद्योगी व्यवसायी हातेमालो गर्दै अघि बढेको बताए । करको दायरा फराकिलो, कर पारदर्शी हुनुपर्ने धारणा उनले राखे । यस्तै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले अझै पनि ७५ प्रतिशत करदातामा करसम्बन्धी चेतनामा कमी रहेको बताए ।

कार्यालयका कर अधिकृत हरिराम ढकालले कर सप्ताह अभियानलाई प्रेरित र प्रभावकारी बनाउन सम्पूर्ण करदातालाई समन्वय र सहयोग गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले करलाई अनिवार्य दायित्वको लिइनुपर्ने बताए ।

कार्यालयका प्रमुख कर अधिकृत घनश्याम पन्थीले हाल सरकारले दिएको कर छूटलाई भरपूर उपयोग गर्न आग्रह गरे । कर प्रणालीलाई थप सुधार्दै लगिएको भन्दै उनले कार्यालयले वैज्ञानिक प्रणाली अनुसार करदाताले आफैले अनलाइनमार्फत कर चुक्ता गर्न सकिने प्रणालीको विकास गर्न लागेको बताए ।

कार्यक्रमका अन्य सहभागीले आयातित सामानमा भन्सार कम हुनुपर्ने, करदाताले स्वतःस्फूर्त कर तिर्ने तथा करलाई दायित्व र अवसरको रूपमा लिने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उत्कृष्ट करदाता भरतपुरको नारायणी सामुदायिक हस्पिटललाई सम्मान गरिएको थियो । हस्पिटलले यो समेत गरी आठौं पटक उत्कृष्ट करदाता सम्मान पाएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्