ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शेयरमा उतारचढाव र भविष्य

२०७८ मंसिर, ८  
लेख | दृष्टिकोण
Image Not Found

अहिले शेयरको बारेमा चर्चा, परिचर्चा, टीकाटिप्पणी गर्नेहरू समाजमा धेरै भेटिन्छन् । हरेक घरदेखि चिया पसलसम्म पनि शेयरकै गफगाफ हुने गरेको छ । सामाजिक सञ्जाल फेसबुक, यूट्युब खोलेर हेरियो भने शेयरकै बारेमा सूचना प्रवाह भइरहेको पाउँछौं । शेयरका बारेमा जान्न, बुझ्न चाहनेहरू फेसबुकमा समूहगत रूपमा देखिन थालेका छन् । कार्यालयमा काम गर्दागर्दै नेप्सेमा आँखा डुलाउने पनि छन् ।

कम्पनीको पूँजीलाई सानो एकाइमा विभाजन गरेर बजारमा लगानीकर्तालाई विक्री गर्ने लगानीको अंश नै शेयर हो । शेयरलाई कानूनी भाषामा धितोपत्र भन्ने गरिन्छ । कम्पनी ऐन २०६३ मा साधारण, बोनस, हकप्रद, अग्राधिकार शेयर गरी विभाजन गरेको छ । कानूनले तोकिएको निश्चित पूँजी राखी स्थापना भएको कम्पनीले आफ्नो उद्देश्यअनुसार गरेको व्यवस्थायबाट भएको नाफा वा घाटा दुवैमा लगानीको अनुपातमा बेहोर्न मञ्जुर गरी शेयरमा लगानी गरिएको हुन्छ । यसैको आधारमा भविष्यमा लगानीकर्ताले नाफा वा घाटाको अंशियार बन्नुपर्ने हुन्छ । शेयरमा गरेको लगानीबाट लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको आधारमा मुनाफा देखिएमा वार्षिक रूपमा लाभांश प्राप्त गर्ने गर्छ । तर, शेयरको सूचीकरण पश्चात् दोस्रो बजारमा कारोबार भएबापत प्राप्त हुने नाफा वा घाटाको सम्पूर्ण जिम्मेवारी लगानीकर्ता स्वयम् नै हुनुपर्छ ।

नेपालमा शेयर कारोबार हुन थालेको ८ दशकभन्दा बढी भइसकेको छ । १९९४ सालसम्म शेयर कारोबारको शुरुआत नै भएको थिएन । विसं १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापनापछि देशमा औपचारिक रूपमा शेयर कारोबार हुन थालेको थियो । नेपाल बैंक र विराटनगर जुट मिल्सले पहिलो पटक शेयर जारी गरेका थिए ।

नेपालमा शेयर कारोबारको शुरुआती दिनमा स्टक एक्सचेन्जको स्थापना नै भएको थिएन । शेयरबजार सानो आकारमा सञ्चालन हुने गरेको थियो । लगानीकर्ता बजारमा खोज्नुपर्ने अवस्थामा थियो । कम्पनी ऐन २०२१ जारी भएपछि पहिलोपटक सरकारी ऋणपत्र निष्कासन भएको थियो । पछि २०३३ सालमा आएर धितोपत्र खरीद विक्री केन्द्रको स्थापना भयो । यस केन्द्रको स्थापनापछि मात्र नेपाली शेयरबजारमा सरकारी ऋणपत्र र कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुन थालेको थियो । त्यसको केही समयपछि उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन भन्दै धितोपत्र कारोबार ऐन २०४० जारी भई शेयरबजारलाई व्यवस्थित गर्न खोजेको देखिन्छ ।

देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि आर्थिक उदारीकरणको नीति अवलम्बन गरियो र देशमा निजीस्तरबाट विभिन्न उद्योगधन्दाहरू स्थापना भई सञ्चालनमा आए । धितोपत्र कारोबार ऐन २०४० मा भएको पहिलो संशोधनले धितोपत्र बजार सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरे । पछि धितोपत्र खरीद विक्री केन्द्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूपान्तरण भई २०५० पुस २९ गते पछि यसैमार्फत नियमित रूपमा शेयर कारोबार हुन थाले । कम्पनी स्थापना, शेयरको प्रकार, शेयर बाँडफाँट गर्ने कार्यलाई नियमित तथा व्यवस्थित गर्ने काम कम्पनी ऐन २०५३ ले गरे । पटकपटक कानून संशोधन भए पनि शेयरबजारले गति लिन सकेको थिएन । देशको आर्थिक विकासको लागि पूँजी परिचालन गर्न, लगानीकर्ताको हित संरक्षण गर्न, शेयरबजारलाई व्यवस्थित गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ र धितोपत्र बजार सञ्चालन नियमावली २०६४ जारी गरियो । तैपनि शेयर कारोबारमा सहजता आएको थिएन । २०७२ सालसम्म आइपुग्दा शेयर कारोबार पूर्णरूपमा विद्युतीय माध्यमबाट भई धेरै नै सहजता आइसकेको छ ।

अहिले शेयरबजार साना, ठूला सबै लगानीकर्ताको पहुँचमा पुगिसकेको छ । लगानीको आकार पनि बढिसकेको छ । घर, कार्यालय, पार्क वा कुनै उपयुक्त स्थानमा बसी मोबाइल वा कम्प्युटरको सहायताले कम्पनीको शेयरमा लगानी गर्ने वातावरण बनिसकेको छ । सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट शेयरसम्बन्धी सूचना तथा जानकारीहरू लगानीकर्तासमक्ष आउने गरेका छन् ।

अहिलेसम्म नेप्सेमा कारोबारका लागि सूचीकरण भएका कम्पनीहरू २ सयभन्दा बढी छन्, जसमा होटल, बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत् तथा विभिन्न उत्पादनमूलक उद्योगहरू समावेश छन् । शेयर कारोबारमा आएको सहजताले लगानीकर्ताहरू पनि बढेका छन् ।

दोस्रो बजारमा नेप्सेमा सूचीकृत शेयरको मूल्य घट्ने र बढ्ने क्रम निरन्तर चलिरहेको हुन्छ । बजारमा आउने हल्ला, राजनीतिक परिवर्तन, नियामक निकायको नीतिगत व्यवस्था, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) जस्ता विभिन्न पक्षले शेयरबजारमा उतारचढावको स्थिति आउने गर्छ । यस्ता कार्यप्रति लगानीकर्ता सचेत हुनुपर्छ ।

लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन पक्ष, नीतिगत व्यवस्था, बजारमा शेयर किनबेचमा हुने उतारचढाव आदिको बारेमा जानेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । शेयरमा अल्पकाल वा दीर्घकालका लागि लगानी गर्न सकिन्छ । वित्तीय रूपमा सबल कम्पनीको शेयरमा लगानी गरेको खण्डमा लगानीकर्तालाई भविष्यमा फाइडा नै गर्ला । तर, शेयरबाट सबैजना करोडपति नै हुन्छ भन्ने छैन, तर भविष्य राम्रो छ ।

राष्ट्रिय अर्थतन्त्र निर्माणमा शेयरबजारको पनि महत्त्वपूर्ण भूमिका रहने कुरामा विवाद छैन । उदार अर्थव्यवस्थाको शुरुआत भएसँगै देशको शेयरबजारमा निजी कम्पनीको बाहुल्य देखिएको छ । अहिले नयाँ कम्पनीहरू सर्वसाधारणमा शेयर जारी गरी बजारमा प्रवेश गरेका छन् । नेप्से पूर्णरूपमा अनलाइन भएसँगै लगानीकर्ताहरू पनि बढेका छन् । कुनै पनि कम्पनीको साधारण शेयरमा एकै दिनमा मागभन्दा बढी आवेदन पर्नुले पनि यो कुराको पुष्टि गर्छ । यस स्थितिमा शेयरबजारलाई अझ गतिशील बनाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनु जरुरी छ । गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा प्रवेश गराउनुपर्ने देखिन्छ । सीमित शेयर ब्रोकरबाट हुँदै आएको कारोबारको दायरलाई बढाउँदै लैजानुपर्ने देखिन्छ । कम्पनीको लीलामी शेयरमा पनि अरू शेयरसरह अनलाइनबाटै मूल्यमा बोलकबोल गरी किन्न सक्ने गरी प्रविधिको विकास गरिनुपर्छ । शेयरबजारलाई निश्चित दिशा दिने जिम्मेवारी धितोपत्र बोर्डको भएको हुँदा यसभित्र सक्षम व्यक्तिको मात्र प्रवेश हुनुपर्छ । यसका लागि समयसापेक्ष रूपमा नीतिगत तथा कानूनी व्यवस्था गर्दै लैजानु उचित हुन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्