ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पैसा र मुद्रा : भिन्नता र भविष्य

अबको समय डिजिटल मुद्राको

२०७८ मंसिर, ८  
लेख | दृष्टिकोण
Image Not Found

भनिन्छ पैसाले समाजलाई र समाजले पैसालाई परिवर्तन गर्छ । हुन पनि पहिला वस्तु तथा सेवाको विनिमयका लागि स्वयं वस्तु तथा सेवा नै प्रयोग हुन्थ्यो र तत्कालीन समाजले त्यस्तो वस्तु विनिमय प्रथाबाट हुने अप्ठ्यारोलाई निराकरण गर्न सुन, चाँदी, छाला, माटो आदिका रूपमा पैसाको प्रयोग गर्न थाल्यो । विस्तारै तिनै पैसाले ती वस्तु तथा सेवामा अन्तर्निहित ‘मूल्य’ वहन गर्दै समाजलाई सहजीकरणको बाटोमा डोर्‍याउन थाल्यो ।

पैसा वा धन भनेको कुनै पनि वस्तुमा निहित मूल्यको प्रतिनिधि मात्र भएकाले पैसालाई न त छुन सकिन्छ, न सुँघ्न नै । यसलाई त केवल संख्याका रूपमा देख्न मात्र सकिने भएकाले यो अमूर्त हुन्छ । नोट तथा सिक्काको रूपमा भौतिक अस्तित्वका साथ छुन र अनुभव गर्न सकिने हुनाले मुद्रालाई मूर्त मानिन्छ ।

अहिले आएर समाज विकसित हुँदै जाने क्रममा प्रचलनमा रहेका पैसा तथा मुद्राको भविष्यका बारेमा फेरि मानिसहरूमा कौतुहलता सृजना हुन थालेको छ ।

हुन त आम रूपमा पैसा र मुद्रालाई धेरै जस्तो सन्दर्भमा एकै अर्थमा बुझ्ने गरिन्छ तापनि विभिन्न मापदण्डको आधारमा ती दुईको बीचमा आधारभूत रूपमा नै भिन्नता रहेको पाइन्छ ।

त्यसैले पैसा र मुद्राको भविष्यका बारेमा चर्चा गर्नुअघि संक्षेपमा तिनका बीचमा रहेको भिन्नताको बारेमा बुझ्नु सान्दर्भिक हुन्छ ।

मुद्रा मूर्त–पैसा अमूर्त
सबैभन्दा पहिलो भिन्नता तिनको स्पृश्यताले देखिन्छ । पैसा वा धन भनेको कुनै पनि वस्तुमा निहित मूल्यको प्रतिनिधि मात्र भएकाले पैसालाई न त छुन सकिन्छ, न सुँघ्न नै । यसलाई त केवल संख्याका रूपमा देख्न मात्र सकिने हुनाले यो अमूर्त हुन्छ ।

अर्कोतिर नोट तथा सिक्काको रूपमा भौतिक अस्तित्वका साथ छुन र अनुभव गर्न सकिने हुनाले मुद्रालाई मूर्त मानिन्छ ।

मूल्य भण्डारण क्षमता र अन्तर्निहित मूल्य
अमूर्त प्रकृतिको भए पनि पैसालाई त्यसको अन्तर्निहित सम्पत्तिको मूल्यमा भावी प्रयोगको लागि भण्डारण गर्न सकिन्छ । तर, मुद्राले सम्पत्तिको ’मूल्य’ लाई भण्डारण गर्न सक्दैन । यसरी पैसाको आफ्नो अन्तर्निहीत मूल्य रहेको हुन्छ भने मुद्राले त्यस्तो मूल्य वहन गरेको हुँदैन ।

प्रत्याभूति
पैसालाई विभिन्न माध्यमले प्रत्याभूत गरेका हुन्छन् । बैंक खातामा हुने पैसालाई ‘चेक’ ले प्रतिनिधिŒव गर्न सक्छ र चेकलाई पैसाका रूपमा ग्रहण गर्न सकिन्छ । तर, मुद्रालाई भने सम्बद्ध देशको सरकारले नै प्रत्याभूत गरेको हुन्छ ।

स्थानान्तरणको सम्भाव्यता
पैसालाई क्रेडिट तथा डेबिट कार्ड, बैंक खाता, इन्टरनेट, मोबाइलजस्ता अभौतिक माध्यमबाट समेत सजिलै स्थानान्तरण गर्न सकिन्छ । तर, मुद्राको स्थानान्तरण भौतिक रूपमा मात्र सम्भव हुन्छ ।

मूल्यको प्रतिनिधित्त्व
पैसाले कुनै पनि वस्तु तथा सेवाको वास्तविक मूल्यलाई प्रतिनिधित्त्व गर्दै त्यसको विनिमयमा भूमिका खेलिरहेको हुन्छ भने मुद्राले केवल आफ्नो क्रयशक्ति बढाउने तथा दैनिक किनबेचका लागि आवश्यक एक मध्यमको रूपमा मात्र काम गरेको हुन्छ । यस अर्थमा कुनै पनि वस्तु तथा सेवाको मूल्यलाई पैसामा व्यक्त गर्न सकिन्छ । तर, कुनै पनि मुद्रा एक्लैले निरपेक्ष रूपमा कुनै वस्तु तथा सेवाको मूल्यलाई व्यक्त गर्ने सामथ्र्य राख्दैन ।

त्यसैले पैसाको मूल्य आपसी विश्वासको आधारमा तय भएको मानिन्छ । तर, मुद्राले भने पैसाको प्रकारलाई मात्र दर्शाउने गर्छ । डलर, रुपैयाँ, यूरो आदि मुद्राले तत्तत् पैसाको मूल्यलाई मात्र प्रतिनिधित्व गरेका हुन्छन् ।

पैसा र मुद्राका बीचमा रहेका यस्तै केही महत्त्वपूर्ण भिन्नताका बारेमा संक्षेपमा चर्चा गरेपछि अब आगामी दिनमा तिनको भविष्यका बारेमा विज्ञहरूले गरेका विशेष गरी ६ प्रकारका भविष्यवाणीहरूबारे संक्षेपमा चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

डिजिटल मुद्रा तथा बैंकिङ
आधुनिक बैंक नोट फ्रान्समा १७औं शताब्दीमा पहिलोपटक जारी भएपछि व्यापक मात्रामा मुद्राहरू जारी हुन थाले पनि अहिले कतिपय ती मुद्राहरू अस्तित्वमा छैनन् । एक अध्ययनअनुसार विगत ३० वर्षमा मात्र ६०० भन्दा बढी मुद्राहरूको अस्तित्त्व समाप्त भइसकेको छ र यो क्रम निरन्तर जारी छ ।

यसो हुनुमा डिजिटल मुद्राको प्रादुर्भाव मुख्य कारण रहेको छ । डिजिटल पैसा तथा मुद्रालाई डाटा ड्रिभन मुद्राको रूपमा पनि बुझ्न सकिन्छ । अन्तरराष्ट्रिय सेटलमेन्ट बैंकले जनाएअनुसार अहिले करीब ८० प्रतिशत केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा जारी गर्ने बारेमा अनुसन्धान गरिरहेका छन् । यसरी अधिकांश मुलुकहरूले डिजिटल मुद्रा निष्कासन गर्न थाले पछि अहिलेको भौतिक मुद्राको अस्तित्त्व संकटमा परी डिजिटल प्रकृतिका पैसा तथा मुद्राहरूले विश्वमा राज गर्ने कुरा पनि स्वयंसिद्ध छ ।

कोर्नेल विश्वविद्यालयका प्राध्यापक ईश्वर प्रसादले लेखेको ‘पैसाको भविष्य’ नामक एक पुस्तकमा उनले अब विस्तारै नगद मुद्राको अवसान शुरू भइसकेको र केन्द्रीय बैंकहरूले जारी गर्ने विद्युतीय मुद्राहरूको नवयुग प्रारम्भ भइसकेको उल्लेख गरेका छन् ।

जब पैसा तथा मुद्रालाई डिजिटल रूपमा प्रचलनमा ल्याइन्छ भने त्यसले स्वाभाविक रूपमा अहिलेको बैंकिङ प्रवृत्तिलाई पनि डिजिटल बनाउने निश्चित छ । अहिले पनि अमेरिका जस्ता विकसित देशहरूमा ८० प्रतिशतभन्दा बढी बैंकिङ कारोबार डिजिटल माध्यममा हुने गरेको छ ।

यस्तो तथ्यांकको आलोकमा बैंकहरूले आफ्नो सम्पूर्ण वस्तु तथा सेवालाई ग्राहकहरूले डिजिटल माध्यमबाट प्राप्त गर्न सक्ने गरी निर्माण गर्नुपर्ने देखिन्छ ।

प्रच्छन्न मुद्राको व्यापक प्रचलन
अबको ३० वर्षमा अहिले प्रचलनमा रहेका भौतिक मुद्रालाई बिटक्वाइनजस्ता प्रच्छन्न मुद्राले पूर्णरूपमा प्रतिस्थापन गर्ने प्रक्षेपण गरिएको छ । प्रच्छन्न मुद्रासम्बन्धी विज्ञहरूको समूहका बीचमा गरिएको एक सर्वेक्षणमा ५४ प्रतिशत विज्ञहरूले यस्तो भविष्यवाणी गरेका हुन् । अझ कतिपयले त सन् २०३५ मै त्यो भइसक्ने अनुमानसमेत गरेका छन् ।

नगदरहित कारोबारको शुरुआत
अहिले जुन गतिमा अभौतिक रूपमा पैसा र मुद्राको प्रयोग भइरहेको छ, सोही गतिअनुरूप अगाडि बढ्दै जाँदा निकट भविष्यमा नै आम रूपमा नगदरहित करोबार विस्तारित हुने अड्कलबाजी गर्न थालिएको छ ।

कतिपय विकसित मुलुकहरूले अहिले नै डिजिटल मुद्राको प्रयोगलाई व्यापक बनाइसकेका छन् । उदाहरणका लागि स्वीडेनमा हुने आर्थिक कारोबारहरूमध्ये ९८ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुन थालिसकेको बताइन्छ । एक अध्ययन प्रक्षेपणअनुसार सन् २०२५ सम्ममा विश्वका ७० प्रतिशत मानिसले डिजिटल कारोबारप्रति पहुँच प्राप्त गरिसक्नेछन् र त्यसले पनि नगदरहित विश्वको भावी परिदृश्यतर्फ नै इंगित गरेको छ ।

बढ्दो उत्तरदायित्त्व तथा चुनौती
प्रविधिको प्रयोगले बैंकहरूलाई कसरी दिगो तथा समाजप्रति बढीभन्दा बढी उत्तरदायी बनाउन सकिन्छ भन्ने कुराका साथै प्रविधि तथा प्रवृतिमा आएको विकासको कारण सृजित जोखिमको पहिचान गरी तिनको निराकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नु भने भविष्यका लागि अत्यन्त चुनौतीपूर्ण छ ।

तर, यी चुनौती हुँदाहुदै पनि प्रच्छन्न तथा डिजिटल मुद्राको  विस्तारले सृजना गरेको अवसरलाई सदुपयोग गर्न सक्ने सामर्थ्यले भावी मुद्राको स्वरूपलाई धेरै हदसम्म निर्धारण गर्ने  भएकाले नेपालजस्ता मुलुकहरूका लागि पैसा र मुद्राका आगामी दिनहरू थप कौतुहलपूर्ण बनेका छन् ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्