ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पूँजीगत खर्च विद्यमान प्रणालीबाट नभएमा नयाँ प्रणाली अपनाइने : अर्थमन्त्री शर्मा

२०७८ मंसिर, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

बुधवार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/ ०७९ को प्रथम प्रगति समिक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

पूँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को एक महीनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताए ।

‘यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु’, उनले भने, ‘अरू एक महीनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहीं जसरी पनि गर्नुपर्छ ।’

उनले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताए । मन्त्री शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि व्यक्त गरे ।

आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने धारणा राखे । 

मन्त्री शर्माले लघुवित्त कम्पनीको ब्याज घटाएर एकल डिजिटमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्नेसमेत बताए ।

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए । उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसबाट सुन कारोबार भइरहेको बताए ।

त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ छ । उनले बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दै पूँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयहरूलाई आग्रह पनि गरे ।

बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालयलगायतले कार्य प्रगति तथा त्रैमासिक समिक्षा प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्