ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेकपा(एमाले) को महाधिवेशनका कारण चितवनमा हवाई चाप बढ्यो

२०७८ मंसिर, ९  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, चितवन । पछिल्लो समय चितवनमा हवाई उडानको चाप ह्वात्तै बढेको छ ।

अन्य दलको राजनीतिक गतिविधिसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएपछि एकहप्ता देखिनै हवाई चाप बढ्दै गएको हवाई सेवा प्रदायक कम्पनी बताउँछन् । 

विशेषगरी उडान सेवा नभएका जिल्लाहरुबाट यात्रुहरु आउन नसकेपनि काठमाडौं, पोखरा, भैरहवाबाट भरतपुर आउने यात्रुको संख्याको चाप बढी भएको हवाई सेवा प्रदायक कम्पनीका कर्मचारीको भनाइ छ । 

बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बहादुर बस्नेतले एकसातादेखि नै यात्रुहरुको चाप बढेको बताए । ‘अहिले यहाँबाट जाने भन्दा पनि भरतपुुर आउने यात्रुको चाप बढी छ, उनले भने, चाहे काठमाडौंबाट होस् या पोखरा अनि भैरहवा । खाली सिट उडाउनु परेको छैन ।’  भरतपुर आउने भन्दा जाने यात्रुको संख्या केही कम भएपनि यहाँबाट फर्कने यात्रुहरुले बुकिङ गर्न थालिसकेको बस्नेतले जानकारी दिए  । 

हाल बुद्धको १० ओटा काठमाडौं, एउटा पोखरा र एउटा जहाजले भैरहवा उडान गर्दै आएका छन् । 

अहिले एमालेको केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ हुँदैछ भने कांग्रेसको जिल्ला अधिवेशन मंसिर १० गतेबाट शुरु हुँदैछ । यसको साथै पर्यटकीय सिजन शुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु पनि देखिन थालेका छन् । 

गुण एयरलाइन्सका भरतपुर इन्चार्ज कुलराज शर्मा चाडबाडका बेला भन्दा पनि अहिले आएर हवाई यात्रुको चाप ह्वात्तै बढेको बताउँछन् । ‘चाडबाडमा भन्दा पनि अहिले टिकट बुकिङ र विक्रीको अनुपात बढ्यो, उनले भने, अहिले केही दिनको लागित न त जाने टिकट छ न आउने नै’, उनले भने । 

भरतपुर विमानस्थलका निमित्त प्रमुख दिपक विकले राजनीतिक गतिविधिका कारण पछिल्लो दिनहरुमा हवाई यात्रुको चाप थप बढेको बताए । ‘चाडबाड पछि पनि यात्रुको संख्या घटेकै पाएका छैनौं, मुभमेन्ट एकदम बढेको छ उनले भने, अहिले आउनेको बढी चाप छ, केही दिनपछि जानेको बढ्ला ।’ हिजोआज मौसमपनि प्रतिकुल नभएको र समयमै र नियमित उडान र अवतरण भएकोले कुनै समस्या नआएको उनको भनाइ छ । 

गुणले एयरलाईन्सले शुरु गर्‍यो पोखरा भरतपुर–पोखरा हवाई सेवा 
यात्रुहरुको चाप  माग र आवश्यकता अनुसार बुधवारबाट भरतपुर–पोखरा–भरतपुर हवाई उडान शुरु गरेको छ । एमालेको महाधिवेशन सँगै पर्यटकहरुको पनि आगमन बढ्दै गएकोले एउटा उडान थप गरिएको गुण एयरलाईन्सले जानकारी दिएको छ ।

एयरलाईन्सका इन्चार्ज शर्माले यात्रुहरुको माग र यात्रुहरुको सहजताका लागि बुधवारबाट पोखरा उडान शुरु गरिएको जानकारी दिए । ‘अहिले महाधिवेशनको माओल पनि भयो पर्यटकहरु पनि आउन थाले त्यसैले हिजोबाट सेवा शुरु गर्‍यौं’ उनले भने, अब विस्तारै भैरहवा उडान पनि सञ्चालन गर्नेछौं । 

विमानस्थलका निमित्त प्रमुख विकले अहिले महाधिवेशन लक्षित गरेर गुण एयरले उडान थप्नुले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए । ‘चितवन देशभरकै केन्द्र पनि हो, यसले एउटा कनेक्टिभिटीको निर्माण गरेको छ ।’ विकले भने । गुण एयरलाइन्सले केही महीना अघिदेखि दुईओटा काठमाडौं उडान गर्दै आएको छ । भने बुधवारबाट थप एउटा पोखरा उडान थप गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्