ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सपना उद्योग

२०७८ मंसिर, १०  
तीतो मीठो
author avatar मदन लम्साल

यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू धेरै नै छन् । मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले देखाएका सपना पछ्याउने हामी सर्वसाधारणहरू त झन् धेरै छौं ।

पुस्ताैंपुस्तादेखि सपनाहरू देख्ने र देखाउनेको सपना शृंखला जारी छ । कोही बीपीको सपना भन्छन्, कोही पुष्पलालको त कोही शहीदको । सातु बेचेर सम्पन्न भएको दिवास्वप्न देख्ने सोम शर्माको देश पो त हाम्रो । अनि सोम शर्माको बिँडो थाम्दै अहोरात्र सपना देख्ने र देखाउने काममा जुट्नु परेन ? त्यसमा पनि सपनाका पछाडि कुद्ने यति ठूलो जमात देशमा भएसम्म अरू के चाहियो र ?

संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ ।

नेपालमा सबैभन्दा राम्रो हुने नै सपनाको खेती हो । खेती सप्रिएपछि यसैको उद्योग खोल्ने हो । त्यही उद्योगको नाम हो पार्टी र यसका जागिरे हुन् कार्यकर्ता । तर कार्यकर्तालाई पार्टीको कोषबाट होइन, राज्यको कोषबाट जागिर खुवाइन्छ । त्यही भएर दल मोटाउने र देश दुब्लाउने क्रम जारी छ ।

सपना पूरा गरिदिने वाचा लिएर नेतृत्वमा पुगेकाहरू कतिपय आफ्नो चैं सपना पूरा गरेर दृश्यबाट अलग भएका भयै छन् । कोही अझै मैदानमै डटेका छन् । सपना देख्नेहरूले पनि आफ्ना सपनालाई फेरि नयाँ रूपमा प्रकट गर्छन् र आफ्ना सपना पूरा गरिदिने नयाँ पात्रको खोजी गरिरहन्छन् । फेरि नयाँ पात्रले पनि पुरानैले जसरी सपनाहरूलाई धोखा दिएर आफू चैं अघि बढ्छन् । यो क्रम पनि निरन्तर छ ।

संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । दुई छाकको जोहो गर्न शहर पसेर सत्तासँग हार गुहार गर्छ । आफू र आफ्ना लालाबालाका लागि न्यानो नाना र नचुहिने छानाको सपना देख्छ । बैंकले नपत्याए पनि कुनै साहूले ऋण पत्याए खाडीमा गएर पैसा कमाउने र ‘चालीस कटेसी रमाउने’ सपना देख्छ ।

बाउआमाले जसोतसो गरेको आर्जनबाट जीविका चलाउन पाएका युवाचाहिँ शहरमा सानोतिनो जागीर खाने सपना देख्छन् । मध्यम र उच्च मध्यम वर्गका युवाको सपना त अमेरिका र बेलायत वा न्यूजील्याण्ड र अस्ट्रेलियाका कलेज धाउने र सके राम्रै कमाउने रंगीन सपना देख्छन् । पहिले त उनीहरू अमेरिकाको डीभी भर्छन् वा कुनै देशको पीआर ट्राई गर्छन् । उनीहरूका बाउआमाका सपना पनि छोराछोरी विदेश गए ‘तेल भिसा’मा उतै पस्ने र पाए उतै बस्ने हुन्छ । छोराछोरीका सपनाहरूको गोडमेल र संरक्षण गर्ने क्रममा अझ कहर खेप्न र आफ्ना सपनाहरू थन्क्याउन विवश पनि छन् थुप्रै अभिभावकहरू ।

आफ्ना सपना पूरा गर्ने क्रममा कोही देशभित्रै त कोही विदेशमा पुलिस कस्टडीमा पुग्छन् त कोही तातो गोली समेत खान पुग्छन् । यस क्रममा कोही शहीद बन्छन् त कोही बनाइन्छन् । शहीदका सपना पूरा गर्ने नाममा पनि थुप्रैले आफ्ना सपना पूरा गर्न भ्याउँछन् । सपनाका व्यापारीहरू फेरि फेरि नयाँ नयाँ सपनाको जालो बुनिरहन्छन् । र, हाम्रा पुराना सपनाका मूर्तिहरूलाई नयाँ नयाँ भोटो लगाएर प्रदर्शन पनि गरिरहन्छन् ।

नयाँ धर्मको सपना, नयाँ स्वर्गको सपना, नयाँ पापमोक्षको सपना देखाउने व्यापार त झन् फस्टाएको छ । शुभलाभको गणितमा निष्ठाको हिसाब हुँदो रहेनछ । यसरी आफ्ना सपना पूरा गर्न टाठाबाठाहरू सिंगापुर र स्वीट्जरल्याण्डको सपना बेच्छन् । त्यसलाई धेरैले पत्याइदिन्छन् र त यहाँ सपना देखाउनेहरूको भाग्य चम्केको छ ।

यसरी हाम्रो पुस्ताको थुप्रै सपना भने भष्मीभूत हुने क्रममा छ । तर हरेक सपनाको आफ्नै मूल्य हुन्छ, जुन हाम्रो पुस्ताले चुकाइरहेकै छ । समानताको सपना देखाएर हजारौंका सिन्दूर पुछेर आफूलाई सिंहासनमा सजाउने काम दश वर्ष त मजैले चल्यो । पगरी बाँध्ने सपना देखेर लगौंटी गुमाउनेहरू थुप्रै भए देशमा ।

सपना पनि केही पुराना छन् । केही भर्खरका छन् । केही साना छन् । केही चर्का छन् । हाम्रा सपना सस्तो हो कि महँगो हो भन्ने कुरा लेखापरीक्षकले बताउन नसके पनि भविष्यले चैं अवश्य बताउला । तर हाम्रा सपना हराएका छैनन् र सजिलै हराउनेवाला पनि छैनन् । ‘सास रहेसम्म आश’ भनेजस्तो हाम्रा सपना कुनै न कुनै दिन पूरा हुने नै छ भनेर झीनो आशामा हामी कुदिरहेकै छौं ।

तर सपना देखेर मात्र हुँदो रहेनछ । सपनालाई विपनामा बदल्न त्यसको गोडमेल र संरक्षणमा पनि लाग्नुपर्दाे रहेछ । के हामीले हाम्रो सम्भावनाका सपनाहरूको संरक्षण र संवद्र्धनमा सधैं लागिपरेका छौं त ? र, हाम्रो सपनाहरूलाई बिगार्न र बिथोल्न खोज्नेहरूलाई हामीले बारम्बार प्रश्न गरिरहेका छौं त ? आजको मूल प्रश्न यही हो ।

तर हामी प्रश्न गर्दैनौं । हामी कि आँखा चिम्लेर बस्छौं, कि गाली गर्छौं, कि स्तुतिमा रमाउँछौं । किनकि हाम्रो आफ्नो कुनै सपना नै छैन । बहादुर भनेर कसैले पिठ्युँमा धाप मारेकै भरमा मर्न तयार हुने जातिको आफ्नो कुनै सपना हुन्छ र ? अर्काको सपना साकार पार्न आफ्नालाई सिध्याउने अनि आफू पनि सकिने जातिको पनि आफ्नो कुनै सपना हुन्छ र ? यस्तो भइरहुन्जेल नेपालमा फस्टाउने भनेकै सपनाको व्यापार हो है ! त्यसैले होला स्वदेशी होस् वा विदेशी लगानी सबै सपना उद्योगमै खर्च भइरहेको । विना लगानीको यो सपनाको उद्योग छैन त गज्जप ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्