ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बैंकिङ साक्षरता र सन्तुष्टि वित्तीय सन्तुलनको आधार

२०७८ मंसिर, १०  
लेख | दृष्टिकोण
Image Not Found

विश्व आर्थिक मञ्चमा समेत वित्तीय साक्षरता र ग्राहक संरक्षणको विषयले महत्त्व पाउन थालेको छ । वित्तीय साक्षरताले कुनै पनि व्यक्तिसँग भएका आर्थिक तथा वित्तीय स्रोत तथा साधनको, वित्तीय क्षेत्रमा उत्पादित वस्तुका बारेमा प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने विधि र ज्ञान दिन्छ । वित्तीय ग्राहक संरक्षण भनेको ग्राहकको सन्तुष्टि र सेवाको स्तरलाई गुणस्तरीय बनाउँदै सेवा र शर्तका बारेमा ग्राहकलाई स्पष्ट जानकारी दिनु हो ।

तथ्यांकले करीब ६७ प्रतिशतमा वित्तीय साक्षरता पुगेको भनिए तापनि अझै यो संख्या निकै न्यून छ । कर्जा प्रवाह गर्दा स्रोतको आंकलन गर्दै ध्यानपूर्वक गर्नुपर्नेमा आक्रामक रूपमा प्रतिस्पर्धा गर्दा लगानीयोग्य रकमको अभाव भएको हो । यसले ऋण उठन नसकी लगानी गरिएको कर्जा खराबमा गई हालको समग्र एनपीए ५ प्रतिशत बढ्न सक्ने सम्भावना देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि निक्षेपभन्दा कर्जा प्रवाह अधिक भयो भनिरहेको छ । तर, नियन्त्रणको भरपर्दो संयन्त्र ल्याउन सकेको देखिँदैन । राष्ट्र बैंकका अनुसार ७० अर्ब निक्षेप संकलन गर्ने ३५२ अर्ब लगानी गर्नुले अधिकांश बैंकको सीसी रेसियोले सीमा नाघिसकेको छ । जब निक्षेप कम हुन्छ ब्याज बडाउने प्रतिस्पर्धा देखिन्छ । निक्षेप बढी हुँदा निक्षेपमा दिने ब्याजदर निकै कम हुने कारण ग्राहक सन्तुष्टिको तह घटिरहेको देखिन्छ । निक्षेपमा ब्याजदर कम हुँदासाथ ग्राहकले शेयर खरीद तथा अन्यत्र लगानी गरेका हुन्छन् जुन तत्काल फिर्ता हुने सम्भावना रहँदैन । यही कारण बैंकिङ तरलतामा कमी आइरहेको छ । वित्तीय सन्तुलनका लागि नियामक निकायको नीति पालना गर्दै निक्षेप संकलन र कर्जा प्रवाह गर्नुपर्छ । विगत ३÷४ वर्षदेखि नै नेपालको बैंकिङ क्षेत्रमा वित्तीय सन्तुलन खलबलिँदै आएको छ । कहिले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून देखिन्छ भने कहिले अधिक देखिन्छ । ब्याजदर बढाएर निक्षेप लिने अवस्थामा पनि राष्ट्र बैंकले अंकुश लगाएको छ जुन स्वागतयोग्य कदम हो । हाल तरलताको संकट थप चुलिँदै जान थालेबाट नेपालको पूँजी बाहिर देशतर्फ पलायन हुने हो कि भन्नेतर्फ सम्बद्ध निकाय थप चनाखो हुनुपर्छ । त्यसो त निक्षेपको बयाज बढाउँदा लागत कायम गर्न स्वतः कर्जाको ब्याज बढाउनु पर्ने हुन्छ । यसले कोभिडबाट थलिएको कृषि, उद्योग तथा व्यपारिक क्षेत्र थप थला पर्ने देखिन्छ ।

तरलताको दिगो समाधान तथा वित्तीय सन्तुलनलाई स्थिर र सबल बनाउन ग्राहक सन्तुष्टि बढाउनुपर्छ । वित्तीय सेवालाई चुस्त र छिटाछरितो बनाउनुपर्छ । प्रविधिको प्रयोग मात्र नगरी यसले काम गरेको छ कि छैन, बेलैमा सचेत भई मर्मत र अनुगमनलाई तीव्रता दिनुपर्छ । स्मरण रहोस्, बिदाको दिनमा वा अन्य दिनमा अधिकांश बैंकको एटीएम मेशिनले काम गरेको हुँदैन । यसतर्फ खासै सुधार देखिँदैन । वित्तीय पहुँचलाई थप वृद्धि गर्ने, वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नेजस्ता काम गर्नुपर्छ । हालको समस्या आउनुमा उपभोग्य क्षेत्रको लगानी विस्तार पनि प्रमुख कारक हो । विदेशबाट आउने विप्रेषणको सदुपयोग उत्पादनशील क्षेत्रमा गर्न प्रेरित गर्दै हुन्डीलगायत अवैध कारोबार वा छाया बैंकिङलाई पूर्ण नियन्त्रण गर्न सकेको खण्डमा आगामी दिनमा वित्तीय सन्तुलन कायम हुन गई तरलताको समस्या केही हद समाधान हुने कुरामा कसैको दुईमत नहोला ।

वित्तीय साक्षरताले पैसा र यसको उपयोगबारे जानकारी प्रदान गर्छ । आफूसँग भएको सीमित बजेटको कसरी सदुपयोग गर्ने, धनसम्पत्ति कानूनबमोजिम कसरी प्राप्त गर्ने, उद्यम व्यवसायका लागि पूँजीको अभाव भएमा बैंकबाट रकम प्राप्त गर्ने, बैंकमा नै बचत गर्ने बानी बसाउने, विदेशको कमाई बैंकिङ च्यानलबाट मात्र विप्रेषण गर्ने, वित्तीय संस्थाबाट उत्पादनमूलक कार्यका लागि ऋण सहयोग लिनेलगायत बारेमा ग्राहक तथा सर्वसाधारणलाई जानकारी दिनु नै वित्तीय साक्षरता हो । यो कार्यक्रम विद्यालय तहका बालबालिकादेखि कलेज अध्ययन गर्ने किशोरकिशोरीलाई समेत अहिलेदेखि नै सिकाउनुपर्छ । वित्तीय कारोबार र वित्तको महŒव र प्रयोगसम्बन्धी असल संस्कार र आचरण सिकाउन सकेमा बैंक तथा वित्तीय संस्थाको बजार शाख अझ वृद्धि हुनेछ ।

इजाजतपत्रप्राप्त संस्थाहरूले आफ्ना ग्राहकलाई प्रदान गर्ने सेवा शर्तसँग सम्बद्ध सबै प्रकारका विवरण सार्वजनिक रूपमा जानकारी गराउनुपर्नेछ । यस्ता विवरणमा वित्तीय सेवा तथा उपकरणहरूका अतिरिक्त त्यससँग सम्बद्ध शुल्क, कमिशन, ब्याजदर, जरीवाना, हर्जानालगायत सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया एवं शर्तहरू समावेश गरेको हुनु पर्नेछ । नेपाल राष्ट बैंकको इ.प्रा.निर्देशन नं. २१/०७५ मा यो व्यवस्था गरिएको छ । आफूले प्रदान गर्ने वित्तीय सेवा, सबै प्रकारका खाता एवं कर्जा र वित्तीय उपकरणसम्बन्धी जानकारीको संक्षिप्त विवरण/पुस्तिका तयार गरी ग्राहक एवं सर्वसाधारणलाई उपलब्ध हुने व्यवस्था मिलाउनु पर्नेछ । विवरणहरू खुल्ने गरी सरल एवं स्पष्ट भाषामा लिखित रूपमा सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ भन्ने उल्लेख छ । विभिन्न प्रकारका खाता र त्यससम्बन्धी विवरण, ग्राहकलाई प्रदान गरिने वित्तीय सेवामा लाग्ने शुल्कका आधार र त्यससम्बन्धी विवरण, बैंकिङ कारोबारका लागि निर्धारित प्रक्रिया एवं कार्यविधि, खाता बन्द गर्दा अवलम्बन गरिने प्रक्रिया, ब्याजदर गणना गर्ने विधि, अग्रिम भुक्तानी शुल्क, ऋणीले समयमा कर्जा भुक्तानी नगरेमा बैंकले गर्ने कारबाही, विलम्ब शुल्क, जरीवाना तथा हर्जाना, विभिन्न प्रकारका विद्युतीय कार्ड सञ्चालनसम्बन्धी कार्यविधि, बैंकिङ कारोवारमा हुन सक्ने सजाय तथा जरीवाना र ग्राहकले अवलम्बन गर्नुपर्ने सतर्कता सम्बन्धमा सर्वसाधारणलाई जानकारी उपलव्ध गराउनुपर्छ । आफ्नो कारोबारसम्बन्धी जानकारी ग्राहकले निःशुल्क रूपमा लिन सक्ने व्यवस्था सम्बद्ध इजाजतपत्र प्राप्त संस्थाले मिलाउनुपर्छ । तसर्थ वित्तीय साक्षरता, वित्तीय पहुँच, निष्पक्ष र गुणस्तरीय एवं पारदर्शी सेवा, वित्तीय ग्राहक संरक्षण, साक्षरता वित्तीय संतुलनका मेरूदण्ड हुन् भन्नुमा अत्युक्ति नहोला ।

लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्