ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

स्टार्टअपमा सहकार्य

२०७८ मंसिर, १२  
सम्पादकीय
Image Not Found

विश्वभर नै स्टार्टअप व्यवसायले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याइरहेको सन्दर्भमा नेपालमा पनि यसलाई प्रोत्साहन गर्न प्रयास भइरहेको छ । केही स्टार्टअपले सफलतासमेत पाइरहेको सन्दर्भमा युवाहरूको नयाँ आइडियाहरूलाई व्यावसायिक रूपमा सफल बनाउन सहयोग पुगोस् भनेर आर्थिक अभियान दैनिकको प्रकाशक न्यू बिजनेश एज प्रालिले स्टार्टअप समिट एन्ड अवार्ड कार्यक्रम आयोजना गर्‍यो । यसले सम्बद्ध सबैलाई एक मञ्चमा उभ्याएर यसमा रहेका समस्या र तिनको समाधान गर्दै स्टार्टअप व्यवसायलाई उकास्न सकिने उपायका बारेमा अन्तरक्रिया गरी सहकार्यका लागि पहल गरेको छ ।

स्टार्टअपहरूलाई धेरै किसिमको तालीम चाहिएको देखिन्छ । खासगरी उनीहरूलाई व्यवस्थापनका लागि बढी सहयोग आवश्यक भएको देखियो ।

प्रविधि र व्यावसायिक आइडियालाई जोडेर नयाँ प्रकारको उद्यम सञ्चालन गर्नु नै स्टार्टअप हो । ठूलो लगानी गर्न त्यति सहज नभएका अवस्थामा प्रविधिको प्रयोग गरेर नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने युवाहरूलाई सहयोग गर्नु आवश्यक छ । नेपालमा स्टार्टअपलाई सघाउन सरकारले प्रयास नगरेको होइन । तर, त्यो सफल हुन सकेको छैन । स्टार्टअपहरूलाई सहयोग गर्न अनुदान दिने, न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने जस्ता कार्यक्रम सरकारले बजेटमार्फत ल्याएको थियो । त्यसअनुसार योजना आयोगले स्टार्टअपहरूबाट आवेदन पनि माग गरेको थियो । तर, कार्यविधि नबन्दा अनुदान वा ऋण दिने कार्यक्रम अझै शुरू भएको छैन । कार्यक्रममा सरकारी अधिकारीहरूले यसमा ब्रेक थ्रु हुन लागेको जानकारी दिएका छन् ।

निजीक्षेत्रबाट पनि स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले यसका लागि इन्कुबेशन सेन्टर नै बनाइसकेको छ । ५० स्टार्टअपलाई लगानी जुटाउने तयारीमा महासंघ लागेको छ । यसै क्रममा उसले विभिन्न कार्यक्रमसमेत गरिसकेको छ ।

त्यस्तै राष्ट्र बैंकले पनि स्टार्टअपहरूलाई कर्जा सुविधा दिलाउने गरी नीतिगत व्यवस्था गरेको छ । केही बैंकहरूले पनि सहयोग गर्न खोजेको देखिन्छ । यसरी हेर्दा नेपालमा स्टार्टअपलाई सहयोग गर्न सरकार र निजीक्षेत्र दुवै तयार रहेको देखिन्छ तैपनि ठूलो सहयोग हुन भने सकेको छैन । यस्तोमा न्यू बिजनेश एजले सबै पक्षलाई एउटै मञ्चमा ल्याएर समन्वय र सहकार्यका लागि अवसर जुटाइदिएको छ जुन स्टार्टअपहरूको विकासका लागि महŒवपूर्ण हुन सक्ने देखिन्छ । कार्यक्रमले निजीक्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यलाई अझ बढी घनीभूत बनाउन आवश्यक भएको देखाएको छ ।

कार्यक्रममा देशभरिबाट छानिएका विभिन्न विधाका १५ ओटा स्टार्टअपहरूलाई पुरस्कार र सम्मान दिइयो । कार्यक्रममा १ सय १७ ओटा स्टार्टअप सूचीकृत हुनुले नेपालमा स्टार्टअपहरू निकै सक्रिय रहेको देखाउँछ । त्यस्तै युवा उद्यमीहरूमा उद्यम गरेर देखाउने जाँगर देशव्यापी छ भनेर पनि पुष्टि भएको छ । विकासमा पछि परेको सुदूरपश्चिममा समेत यस्तो देखिनु निकै उत्साहवर्धक रहेको छ ।

यस्ता स्टार्टअपहरूलाई धेरै किसिमको तालीम चाहिएको देखिन्छ । खासगरी उनीहरूलाई व्यवस्थापनका लागि बढी सहयोग आवश्यक भएको देखियो । व्यवस्थापनका ज्ञानको कमीको कारण उनीहरूसँग भएका व्यावसायिक आइडियाहरूले काम गर्न नसकेको पाइयो । उनीहरूलाई वित्तीय सहयोग धेरै चाहिएको होइन रहेछ, व्यवस्थापनको पक्ष बढी चाहिएको रहेछ भन्ने देखियो । कसैसँग आइडिया छ ज्ञानचाहिँ छैन, कसैसँग टेक्नोलजी छैन, व्यवस्थापन छैन, कसैसँग व्यवस्थापन छ, टेक्नोलजी छैन । उनीहरूमा कसरी गर्ने भन्ने कुरा सिक्न हुटहुटी पनि छ । यी कुरा उनीहरूलाई दिन सकिए लगानी जुटाइदिन संस्थाहरू तयार पनि छन् । त्यसैले समन्वित पहल हुन सके नेपालमा पनि स्टार्टअप युनिकर्नहरू जन्मन सक्ने सम्भावना देखिएको छ ।

बैंकहरूले अझै पनि स्टार्टअपहरूलाई लक्षित गरी लगानी प्रडक्ट बनाएको पाइँदैन । एसएमइहरूको प्रडक्ट छ त्यही भित्र रहेर लगानी गर्न खोजेको देखिन्छ । उनीहरूले पनि स्टार्ट अप प्रडक्टलाई सहयोग गर्ने हो भन्ने राष्ट्र बैंकले त्यहीअनुसारको नीति पनि ल्याउन आवश्यक छ । कार्यक्रममा सबै पक्षले सहयोग गर्ने कुरामा एकमत व्यक्त गरेका छन् । सबै मिलेर बलियो टेवा दिन सकियो भने नेपालमा स्टार्टअप युनिकर्नहरू आउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्