ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हस्तकला उद्योगको विकास र व्यापार प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न

२०७८ मंसिर, १२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले कोभिड–१९ पश्चात् हस्तकला उद्योगको दिगो विकासका अवसर र चुनौती तथा व्यापार प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत बिहीवार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले हस्तकला लगायत वस्तुको निर्यात प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।

विगत १० वर्षको समग्र निर्यातको तथ्यांक सन्तोषजनक नरहेको भन्दै उनले यसलाई हरेक वर्ष २० प्रतिशतसम्म बढाउन सके ५ वर्षमा दोब्बर पुर्‍याउन सकिने बताए । हस्तकलाका शिल्पलाई पुस्तान्तरणमा मात्र सीमित राख्न नहुने धारणा राख्दै उनले यसमा नयाँ उद्यमीहरूलाई आकर्षित गर्न र नयाँ बजारको खोजी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवं नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंका अध्यक्ष मीरा भट्टराईले हस्तकला उद्योगले विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन रूपमा योगदान पुर्‍याउँदै आएको बताइन् । यसको प्रवद्र्धन गर्न सकेमा देशको सर्वांगीण विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोभिड महामारीपछि हस्तकला उद्योगमा परेको नकारात्मक असरले निर्यात व्यापारमा कमी आएको बताए । यसै अवस्थालाई दृष्टिगत गरी उद्योगलाई चलायमान बनाउन महासंघले हालै हस्तकला व्यापार मेला आयोजना गरेको उनले उल्लेख गरे ।

संघका उपाध्यक्ष किरणकुमार डंगोलले स्थानीय तथा केन्द्रीय स्तरका सरकारी विभिन्न निकायबाट तयार पारिने नीति र नियमबाट हस्तकला क्षेत्रमा सुधार ल्याउन सकिने बताए । नेपाली हस्तकलाको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन उनले योजना आयोगलाई आग्रह समेत गरे ।

सेमिनार सत्रको अध्यक्षता गरेकी राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंले हस्तकलाको प्रवर्द्धन विदेशमा मात्र होइन, आन्तरिक बजारमा पनि पर्याप्त मात्रामा गर्नुपर्ने आवश्यकता औंल्याइन् । यस्तो विषयमा पनि पर्याप्त अनुसन्धान गरी व्यवसायीले राष्ट्रिय नीतिमै समावेश गर्न पहल गर्नुपर्नेमा उनले जोड दिइन् ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयश खनालले व्यापार प्रवद्र्धनका लागि ट्रेड पोर्टलको उपयोग विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै नेपाल खुला विश्वविद्यालयका प्रा.डा. अरहन स्थापितले कोभिड १९ प्रभावित कालमा हस्तकला उद्योगको दिगो विकास अवसर र चुनातीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका प्रतिनिधि, निर्यात परिषद्, स्वच्छ व्यवसायी समूह नेपाल, विभिन्न जिल्ला, प्रदेश तथा वस्तुगत संघका प्रतिनिधि एवं प्राज्ञहरू लगायत ६५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement