ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पुष्प व्यवसायले पुरानै लय लिन एक वर्ष लाग्ने

२०७८ मंसिर, १३  
समाचार
Image Not Found

मंसिर १३, काठमाडौैं । कोरोना महामारी केही कम भएसँगै अन्य व्यवसायले बिस्तारै लय समाति सकेका छन् । पुष्प व्यवसायले भने पुरानै लय लिन अझै एक वर्ष लाग्ने बताइएको छ । 

कोरोना भाइरसका कारण पुष्प व्यवसायले दैनिक रू. एक करोडसम्मको नोक्सान सामना गर्नुपर्‍यो । अहिले विस्तारै व्यवसाय सञ्चालनमा आए पनि महामारी शुरु हुनुपूृर्वको जस्तो बजारमा चहलपहल हुन सकेको छैन । भर्खर चाडबाड सकिएको छ ।

अहिले विवाहको मौसम हुँदा पनि आशाअनुरुप फूलको कारोबार हुन सकेको छैन । त्यसैले १६ महीनाअघिको यस व्यवसायले लय समात्न ६ महीनादेखि एक वर्षको समय लाग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।  

उनले भने, ‘कोरोना महामारी अझै हटेको छैन । विश्वासका साथ व्यवसायीले यस क्षेत्रमा लगानी बढाउन पाएका छैनन् । लामो समयसम्म व्यवसाय चलायमान गर्न नपाएपछि २५ प्रतिशत व्यवसायी अन्य पेसामा पलायन भइसकेका छन् ।’ कोरोना शुरु हुनुभन्दा पहिले असोजदेखि फागुनसम्म फूल उत्पादन र विक्री वितरण हुन्थ्यो ।

विश्वभर फैलिएको  कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले डेढ वर्षदेखि पर्याप्त आम्दानी गर्न सकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य व्यवसाय सञ्चालनमा आउँदा पनि यस व्यवसायले गति समात्न अझै नसकेको अध्यक्ष तामाङ बताउँछन् । 

कोरोना अघि सामान्य समयमा दैनिक रू. एक कारोडभन्दा बढी फूलको कारोबार हुने गरेको थियो । गत जेठ–असारमा कोरोना उच्च विन्दुमा पुग्दा मुस्किलले रू. दुई लाखमा मात्र चित्त बुझाउनु परेको अध्यक्ष तामाङ सम्झनुहुन्छ । हरेक वर्ष रू. तीन अर्बको कारोबार गरिरहेको उक्त व्यवसायले गत आर्थिक वर्षमा रू. एक अर्ब ६५ कारोड मात्र कारोबार गरेको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा २००७ सालदेखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement