ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाली बैंकहरुले किन पाउँदैनन् अन्तरराष्ट्रिय अवार्ड ?

२०७८ मंसिर, १४  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

मंसिर १४, काठमाडौं । नेपालका बैंकहरुले नेपालमै विभिन्न शीर्षकमा अवार्ड पाउँदै आएका छन् । 

 विभिन्न अन्तरराष्ट्रिय तथा विदेशी संस्थाहरुबाट पनि विभिन्न अवार्ड पाउँदै आएका छन् । विदेशी अवार्ड कार्यक्रममा सहभागी हुँदा पनि यहाँका बैंकहरुले नेपाल भित्रकै उत्कृष्ट बैंकको रुपमा मात्र अवार्ड पाएका छन् ।

तर, नेपालका बैंकहरुले दक्षिण एशिया, एशिया लगायतका क्षेत्रमा उत्कृष्ट बैंक भनेर अवार्ड पाएको इतिहास अझै छैन । आठ दशकभन्दा लामो इतिहास रहेको नेपाली बैंकिङ क्षेत्रले यस्तो अवार्ड किन पाएनन् त ? सरोकारवालाहरु के भन्छन् त ? 

बिशेषगरी लण्डनको ‘द बैंकर’ म्यागजिनले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्दै आएको छ । त्यसमा नेपाली बैंकहरु सहभागी हुन्छन् । त्यसमा उनीहरूले नेपालको बैंकहरुमा उत्कृष्ट अर्थात् ‘बैंक अफ द इयर’ भनेर अवार्ड पाएका छन् । तर दक्षिण एशियाकै वा एशिया प्यासिफिक क्षेत्रको राम्रो बैंक भनेर अवार्ड पाउन अझै सकेका छैनन् । 

अहिलेसम्म विभिन्न वर्षहरुमा नेपालका एनएमबि, इभेष्टमेन्ट, मेगा, ग्लोबल तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ‘द बैंकर’ बाट नेपालको ‘बैंक अफ द इयर’ को अवार्ड पाईसकेका छन् । तर, दक्षिण एशिया वा एशियाको उत्कृष्ट बैंक भनेर, अथवा डिजिटलाइजेसनमा अगाडि भएको भनेर, दिगो बैंकिङ, वातावरण तथा सामाजिक व्यवस्थापन आदि क्षेत्रमा काम गरेको वा योगदान गरेको भनेर यहाँका बैंकहरुले अवार्ड पाउन सकेका छैनन् । 

नेपाली बैंकरहरुलाई सोध्दा केहीले यस्ता अवार्डमा शुल्क तिर्नु पर्ने र विभिन्न जानकारी दिनुपर्ने भएर पनि झन्झटिलो हुनाले यस्ता अवार्ड लिन खासै इच्छा नगरेको वताएका छन् । कोही भने दक्षिण एशिया स्तरमा नेपाली बैंकहरुभन्दा धेरै ओटा उत्कृष्ट बैंकहरु रहेको बताउँछन् ।

*ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यको विचारमा ती देशहरुको बजार ठूलो भएर पनि त्यहाँका बैंकहरु द बैंकरका कतिपय मापदण्डमा नेपाली बैंकभन्दा राम्रा देखिएका हुन् । ‘नेपाली बैंकहरुले अझै धेरै गर्न बाँकी छ’, उनले भने ।

यसको अर्थ नेपाली बैंकहरु पछाडि पर्नुको कारण आयोजक संस्थाले राखेको मापदण्ड रहेको देखिन्छ । आयोजक संस्थाहरुले यस्तो मापदण्ड राखेका छन् जसमा नेपाली बैंकहरु कमै मात्रामा अभ्यास गरिरहेका हुन्छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालकी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिंग प्रमुख प्रनु सिंहका अनुसार नेपालका बैंकहरुले क्षेत्रिय पुरस्कारका लागि क्षेत्रिय स्तरमै कुनै काम गरेको हुनुपर्छ । अनि बल्ल क्षेत्रिय पुरस्कारका लागि दावी गर्न पाईन्छ । यसरी कुनै अन्तरराष्ट्रिय पहल गरेको देखाउन नसकेर पनि नेपाली बैंकहरुले द बैंकरलगायतको जस्तो अन्तरराष्ट्रिय स्तरको पुरस्कारका लागि दावी नै गर्न मिल्ने अवस्था छैन । 

द बैंकरले बैंकहरुको रणनीतिक पहल, डिजिटल पहल, दिगो बैंकिङ पहल, दिगो बैंकिङ अभ्यास, संस्थागत सुशासन तथा पर्यावरण र सामाजिक व्यवस्थापन प्रणालीलाई मापदण्ड बनाएर त्यस्तो अवार्ड दिदैं आएको छ । यस मध्ये नेपाली बैंकहरु केही मापदण्डमा त्यति योग्य नरहेको बताइन्छ । 

बिशेषगरी नेपाली बैंकहरुले पर्यावरण र सामाजिक व्यवस्थापन प्रणालीमा त्यति काम गरेको पाइदैन । साथै, इन्टरनेशनल पार्टनरसिपमा पनि नेपाली बैंकहरु त्यति अग्रसर छैनन् । फलस्वरुप नेपाली बैंकहरुले त्यस्तो अवार्ड पाउन नसकेको जानकारवालाहरु बताउँछन् ।

त्यस्तै रणनीतिक अग्रसरतामा पनि नेपाली बैंकहरु पछि नै परेको पाइन्छ । उक्त बुँदामा द बैंकरले स्थानीय वण्ड तथा अन्तरराष्ट्रिय कर्जा बजारबाट रकम जुटाएर फन्डको विविधीकरण गरेको तथा साना व्यवसायमा लगानी गरेको तथा हरित कर्जा प्रवाह गरेको मूल्यांकन गर्ने गर्दछ । 

यसैगरी दिगो बैंकिङ पहल अन्तर्गत पनि हरित लगानीमै जोड दिइएको छ । यसै शीर्षकमा द बैंकरले देशलाई हरित उर्जामा आत्मनिर्भर बनाउने खालका परियोजनामा गरेको लगानीलाई हेर्छ । नेपाली बैंकहरुले जलविद्युत् र सौर्य उर्जामा लगानी गर्न थालेको धेरै नभइसकेकोले पनि उक्त मापदण्डमा नेपाली बैंकहरु पछि परेको हुनसक्छ । तर यसमा विस्तारै सुधार हुने अपेक्षा गर्न सकिन्छ । 

अर्को मापदण्डले उत्पादनमूलक तथा रियल सेक्टरमा लगानीको मूल्यांकन गर्छ । नेपाली बैंकहरुको प्रमुख लगानी आयात व्यापारमै भएर पनि नेपाली बैंकहरु पछि परेको हुनसक्छ ।
झन् अहिले कोभिड माहामारीपछि यस्ता अन्तरराष्ट्रिय अवार्डहरुमा कुन बैंकले आफ्नो बैंकलाई कसरी चुस्त राख्न सक्यो, कसरी ग्राहकहरुलाई अझ बढी सेवा दिन सक्यो भन्ने कुराहरु पनि हेर्ने गरिएको जानकारहरु बताउँछन् । 

*रत्नराज बज्राचार्य, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement