ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

फोहोरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

२०७८ मंसिर, १६  
वाग्मती प्रदेश
NA

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ । नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहर’ बनाउने अभियान अनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहेका छन् । ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्नेगरी सहभागी गराएर तालिम प्रदान गरेको हो ।

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उनको भनाइ छ ।

तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिक रूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा विक्री गरेर आम्दानी गर्न सकिनेछ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै महिलाहरूले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताइन् ।

नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले बताए । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषिउपज तथा फलफूलको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्