ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

काठमाडौंका पूर्वाेत्तर क्षेत्रमा एडीएसएल सेवामा समस्या

२०७८ मंसिर, १६  
वाग्मती प्रदेश
NA

काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडीएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडीएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो ।

जोरपाटी–थली–साँखु र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडीएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको ग्राहक रश्मि पुडासैनीले बताइन् । तामाको तारबाट इन्टरनेट सेवा दिइने एडीएसएल सेवामा तार काटिएपछि हप्तौं सेवा अवरुद्ध हुने गरेको छ । सडक विस्तारका क्रममा विद्युत्का खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ । टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडीएसएल सेवाका ग्राहक मर्कामा पर्ने गरेका छन् ।

नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख पर्वतराज न्यौपाने सबैतिर ‘फाइबर टु होम’ (एफटीटीएच) सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको बताउँछन् । टेलिकमको यस्तो नीतिका कारण वर्षौंदेखि पुरानो भएको एडीएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुन सकेको छैन । यसले गर्दा पनि एडीएसएल सेवा चलेका बेलामा राम्रोसँग काम गर्दैन ।

एडीएसएल सेवामा पाँच एमबीभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुख न्यौपानेको स्वीकारोक्ति छ । निजीक्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम २५ एमबि गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडीएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले कहिल्यै सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा जोड्दैनन् ।

एडीएसएल सेवा जोडेर वर्षौंदेखि दुःख पाएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका राकेश रसाइली पटक–पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरे पनि समस्या समाधान नहुने गरेको बताउँछन् । एडीएसएल सेवामा समस्या आउँदा आफूले सञ्चालन गरेको गोल्डेन मिसन एजुकेशन सेन्टरको काममा धेरैपटक समस्या भोगेको उनले गुनासो गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्