ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

२०७८ मंसिर, १६  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ ।

कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ ।

यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् ।

कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ ।

कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ ।

दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ ।

आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्