ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सम्पत्तिसम्बन्धी कानूनी व्यवस्था

सम्पत्ति भागबन्डा लाग्न सक्ने अवस्था

२०७८ मंसिर, १७  
लेख | दृष्टिकोण
Image Not Found

विधिशास्त्रको एउटा महत्त्वपूर्ण विषय हो, सम्पत्ति । राज्यको अवधारणासँगै यसको विकास भएको हो । कुनै पनि व्यक्तिको अधिकार वा स्वामित्वमा रहेको सजीव वा निर्जीव वस्तुका साथै कुनै पनि चल अचल वस्तु, कार्य वा नगद माथिको साम्पत्तिक अधिकार सम्पत्ति हो । अर्थात् स्वामित्वको अधिकार प्रयोग गर्न सकिने वस्तु नै सम्पत्ति हो ।

संयुक्त सम्पत्तिमा सबै स्वामित्ववालाको बराबर हक नहुन सक्छ । कुनै व्यक्तिको हक वा अंश खुलाएर लिखत गरिएको छ भने सोही लिखतबमोजिम हुन्छ । यदि यस्तो हक अंश खुलाइएको छैन वा केही पनि उल्लेख नगरिएकोमा भने उक्त सम्पत्तिमा सबै स्वामित्ववालाको हक वा अंश समान रहेको मानिन्छ ।

मुलुकी देवानी संहिता २०७४ को भाग ४ परिच्छेद १ मा सम्पत्तिका सम्बन्धमा विस्तृत व्यवस्था गरिएको छ । उपभोग गर्न, खरीद, विक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ र वस्तु भन्नाले खरीद विक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनुपर्छ भनी संहिताको दफा २५१ ले भनेकोे छ । यस संहिताले भौतिक तथा अभौतिक वस्तु जस्तो कि बौद्धिक सम्पत्तिलाई समेत सम्पत्तिका रूपमा समावेश गरेको छ । सम्पत्तिको हक कानूनबमोजिम बाहेक व्यक्तिको अहरणीय अधिकार हो । नेपालको संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । यस्तै मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १७, जातीय भेदभावका सबै स्वरूपहरूको उन्मूलन विषयक अन्तरराष्ट्रिय सन्धि १९६५ को धारा ५ तथा महिलाहरू विरुद्धका सबै किसिमका भेदभाव उन्मूलन गर्ने महासन्धिको धारा १६ मा समेत सम्पत्तिको हक सम्बन्धमा व्यवस्था गरिएको छ । यसरी व्यक्तिको सम्पत्तिसम्बन्धी अधिकारलाई संविधान ऐन कानून र अन्तरराष्ट्रिय सन्धि सम्झौतासमेतले प्रत्याभूत गरेको पाइन्छ ।

यसैगरी संहिताको दफा २५५ ले सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरूपको आधारमा सम्पत्तिको वर्गीकरण गरेको छ । यसमा निजी सम्पत्ति, सगोलको सम्पत्ति, संयुक्त सम्पत्ति, सामुदायिक सम्पत्ति, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्ति र गुठीको सम्पत्तिसमेत गरी ७ प्रकारका सम्पत्तिको व्यवस्था गरेको छ, यी ७ ओटै सम्पत्तिभित्र चल वा अचल दुवै सम्पत्ति पर्छन् । यसमध्ये यहाँ निजी सम्पत्ति, सगोलको सम्पत्ति र संयुक्त सम्पत्तिका बारेमा मात्र चर्चा गरिएको छ ।

कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ, भनी संहिताको दफा २५६ ले भनेको छ । यसअन्तर्गत उपदफा (१) (क) आफ्नो ज्ञान शीप वा प्रयासबाट आर्जन गरेको (ख) दान बकस वा अपुताली स्वरूपप्राप्त गरेको (ग) चिट्ठा वा उपहारस्वरूप प्राप्त गरेको (घ) पारिश्रमिक, उपदान, निवृत्तिभरण, उपचार खर्च, सञ्चयकोष, बीमा वा अन्य सामाजिक सुरक्षणबापत प्राप्त गरेको (ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको, (च) कानूनबमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खती उपती आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको (६) महिलाले विवाहपूर्व आर्जन गरेको प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढेबढाएको (ज) महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरिदिएको वा पतितर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति (झ) कानूनबमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको । त्यसै गरी उपदफा (२) कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस ऐनको अधीनमा रही आफू खुशी गर्न पाउँछ । दफा २५६ बमोजिमको सम्पत्ति कानूनको अधीनमा रही आफूखुशी गर्न पाउँछ, अंशबन्डासमेत गर्नु पर्दैन । यस्तो उल्लिखित सम्पत्तिबाट बढेबढाएको सम्पत्ति पनि निजी नै मानिन्छ । अन्य प्रकारका सम्पत्ति भनी प्रमाणित भएकोमा बाहेक व्यक्तिका सबै सम्पत्ति निजी सम्पत्ति हुन् । अंशबन्डा गर्दाका अवस्थामा निजी सम्पत्ति अन्य अंशियारलाई भाग लगाउनु नपर्ने स्पष्ट व्यवस्था गरिएको छ । यस्तो सम्पत्ति कुनै अंशियारहरूबीच अंशबन्डा लाग्दैन ।

यसै गरी संहिताको दफा २५७ ले सगोलको सम्पत्तिका सम्बन्धमा व्यवस्था गरेको छ । यसको उपदफा (१) दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढेबढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिनेछ । (क) पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति, (ख) निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति (ग) अंशियारले सगोलको खेती उद्योग व्यापार व्यवसायबाट आर्जन गरेको वा त्यसबाट बढेबढाएको सम्पत्ति (२) कानूनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढेबढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ । (३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबुआमा र छोराछोरीबीच अंशबन्डा गर्ने प्रयोजनका लागि बाबुआमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको सम्पत्ति मानिनेछ । (४) सगोलको सम्पत्तिको उपभोग हक हस्तान्तरण तथा अन्य व्यवस्था यस ऐनको अन्य परिच्छेदबमोजिम हुनेछ, भनेको छ ।

प्रत्यक्ष रूपमा अंशबन्डासँग जोडिएको सगोलको सम्पत्तिका सम्बन्धमा संहिताको दफा २५७ ले स्पष्ट पार्नुका साथै कस्तो सम्पत्तिलाई सगोलको सम्पत्ति मानिने हो, त्यसका बारेमा व्यवस्था गरेको छ । सगोलको सम्पत्तिको कानूनी हैसियत अंशबन्डाको सम्बन्धमा सबै अंशियारहरूबीच समान हन्छ । कानूनबमोजिम छुट्टिभिन्न नहुँदै पतिपत्नीले कमाएको वा त्यसबाट बढेबढाएको सम्पत्ति पतिपत्नीका लागि सगोलको सम्पत्ति मानिन्छ भने छुट्टिभिन्न भइसकेपछि कमाएको सम्पत्तिमा भने यो व्यवस्था लागू नभई निजी सम्पत्तिको व्यवस्था लागू हुन्छ ।

सगोलको सदस्य जसको नाममा सम्पत्ति रहेको भए पनि त्यस्तो सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको मानिन्छ । यदि अन्यथा प्रमाणित भएमा निजी सम्पत्तिको दाबी गर्न सकिन्छ । निजी ज्ञान शीप प्रयासबाट कमाएको सम्पत्ति निजी मानिन्छ । निजी आर्जनबाहेकको पारिवारिक सम्पत्ति सगोलको हन्छ । प्रमाण ऐन २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित भएमा बाहेक कनै पनि अंशियारको नाममा सम्पत्ति रहेको भए पनि त्यो सम्पत्ति सगोलको मानिने कानूनी व्यवस्था गरिएको पाइन्छ ।

यसैगरी दफा २५८ ले संयुक्त सम्पत्तिका बारे व्यवस्था गरेको छ । यसैको उपदफा (१) एकासगोलका अंशियारहरूबाहेक दुई वा दुईभन्दा बढी व्यक्तिको नाममा रहेको वा त्यसबाट बढेबढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिनेछ । (२) संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा अंश खुलाई लिखत भएकोमा सोहीबमोजिम र लिखतमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र अंश रहेको मानिनेछ । (३) संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस परिच्छेद तथा यस ऐनको अन्य परिच्छेद बमोजिम हुनेछ । एकासगोलको हक अंश पाउने अबस्थाका अंशियार बाहेकका अन्य दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा सोबाट बढेबढाएको सम्पत्ति संयुक्त सम्पत्ति हो । भनीएको छ । यो देवानी संहिताले गरेको नयाँ व्यवस्था हो । संयुक्त सम्पत्तिमा सबै स्वामित्ववालाहरूको बराबर हक नहुन सक्छ । कुनै व्यक्तिको हक वा अंश खुलाएर लिखत गरिएको छ भने सोही लिखत बमोजिम हुन्छ । यदि यस्तो हक अंश खुलाइएको छैन वा केही पनि उल्लेख नगरिएकोमा भने उक्त सम्पत्तिमा सबै स्वामित्ववालाहरूको हक अंश समान रहेको मानिन्छ । यस्तो सम्पत्तिको उपभोग व्यवस्थापन हक हस्तान्तरण तथा अन्य व्यवस्था कानूनबमोजिम हुनेछ । यस्तो सम्पत्तिको व्यवस्थापन करारीय सम्बन्धको आधारमा तय हुने छ भनिएको छ । यसरी सम्पत्तिका सम्बन्धमा संहिताले स्पष्ट व्यवस्था गरेको पाइन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [2]
User Image

Krishna sharan lamichhane

[Dec 3, 2021 02:16pm]

Dherai ramro, sampati sambandhi bishayako barema muluki dewani sanhitama bhayako kanooni byabastha ka barema saral ra prasta tawarle byakhya bibechana gariyako jeevan opayogi lekh Thank u.


User Image

Krishna sharan lamichhane

[Dec 3, 2021 02:09pm]

Jeevan upayogi lekh.


प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement